Everest Bank Ltd.
काठमाण्डौ । ठूलो माछाले सानो माछालाई खानु, बलियाले निर्धालाई हेप्नु स्वभाविक ठानिएला । तर सबै कुरामा यो सिद्धान्त लागू हुँदैन । एउटै नियम, विधि र विधानभित्र स्थापना भएका संस्थाहरुमा एउटाले नियम मान्ने, तर अर्काले नियम नमान्ने भयो भने त्यसलाई विधिको शासन वा लोकतन्त्र भनिँदैन । अझ कानून बनाएर कार्यान्वयन गराउने पक्षको कमजोरीका कारण एउटै व्यवस्थामा उही नियम मान्नुपर्ने निकायहरुमा बलिया बांगालाई जे गर्न पनि छुट दिने, तर निर्धालाई चाहि कानूनको हाउगुँजी देखाउने प्रवृति लोकतन्त्रका लागि घातक प्रवृति हो । नेपाल राष्ट्रबैंकका कर्मचारीहरुको यस्तै प्रवृतिका कारण विदेशी लगानी साझेदारीमा संचालित एभरेष्ट बैंक लिमीटेडले विगत केही वर्षदेखि चरम दादागिरी प्रदर्शन गरिरहेको छ । यो बैंकको दादागिरीका कारण अन्य वाणिज्य बैंकहरुले आफ्नो बिजिनेशमा करोडौं घाटा सहनु परिरहेको छ । एभरेष्टले कानून उल्लंघन गरेर अरुलाई घाटा लगाउँदा समेत राष्ट्रबैंकका जिम्मेवार अधिकारी भने तै चूप मै चूप छन् ।
प्रसंग हो, एभरेष्ट बैंकले विभिन्न देशमा संचालन गरेको रेमिटान्स सेवाको । भारतको पञ्जाव नेशनल बैंकसँगकोसाझेदारीमा नेपालमा संचालनमा रही उत्कृष्ट बैंकमध्येमा पर्न सफल यो बैंकले खाडी मुलुक, अन्य यूरोपियन देश लगायतसम्म स्थानीय साझेदार संस्था तथा एजेन्टहरुसँग मिलेर रेमिटान्सको कारोबार गर्दै आइरहेको छ । एभरेष्टको रेमिटान्स कारोबारले अन्य बैंकहरुलाई समेत उछिनेको छ । यसको भित्री कारण एभरेष्टको रेमिटान्स सेवा अरु भन्दा धेरै नै उत्कृष्ट भएर विजिनेश जमेको होइन, उसले कानून उल्लंघन गरी काम गर्दा अन्य बैंकको रेमिटान्स बिजिनेश सुकाएर आफू चम्किएको हो ।
स्रोतका अनुसार एभरेष्ट बैंकले रेमिटान्स कारोबारको क्रममा दिने कमिसन राष्ट्रबैंकको निर्देशनमा फरेन एक्सचेञ्ज डिलर एशोसिएसन अफ नेपाल(फेडान)ले तोके भन्दा बढी दिने गरेको छ । विदेशी एजेन्टहरु जहाँबाट बढी कमिसन आयो, त्यही थुप्रिनु स्वभाविक हो । यसरी फेडानको रेटलाई मिचेर एभरेष्ट बैंकले बढी कमिसन दिनु गैरकानूनी काम हो । यो काम महिनौदेखि एभरेष्ट बैंकले गरिरहेको, सो उपर राष्ट्रबैंकमा दर्जन बढी उजुरी समेत परिसके पनि यो विषयमा केन्द्रीय बैंकका अधिकारीहरुले चासो दिएका छैनन् ।
स्रोतका अनुसार हरेक दिनको रेमिटान्स कारोबार गर्ने नेपालका बैंकहरुलाई बिहान १० बजे र दिउँसो २ बजे दुईपटक विनिमय दर निर्धारण गरी फेडानले उपलब्ध गराउँछ । यो अधिकार राष्ट्रबैंकले विगत एकवर्षदेखि फेडानलाई नै दिएको छ । नियम अनुसार फेडानले सबै बैंकलाई दिनमा दुईपटक रेट पठाएपछि सबैले त्यसलाई मान्नुपर्छ वा त्यही रेटको परिधिभित्र रही रेमिटान्सको कारोबार गर्नुपर्छ । तर एभरेष्ट बैंकले फेडानको रेट मान्दैन । महिनौअघिदेखि फेडानको रेट उल्लंघन गर्दै उसले अरु भन्दा बढी कमिसन एजेन्टलाई दिन्छ । अरु बैंक भन्दा एभरेष्टले बढी कमिसन दिएपछि विजिनेश यही बैंकतर्फ थुप्रिएको र यसका कारण एभरेष्टले कुस्त कमाए पनि उसको दादागिरीका कारण अन्य बैैंकको रेमिटान्स बिजिनेश चाहि धरापमा परेको छ ।
‘एभरेष्ट बैंकको दादागिरी र कानून नमान्ने प्रवृतिको कारण हाम्रो विजिनेश चौपट भयो ।’ रेमिटान्स कारोबार गर्ने एक वाणिज्य बैंकका सीइओले बिजशालासँग भने–‘हामीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राष्ट्रबैंकलाई पटक पटक गुहार्दा समेत यो समस्या सुल्झिएन । केही साथीहरुले राष्ट्रबैंकमा लिखित उजुरी नै हाल्नु भएको छ, तर त्यसउपर सुनुवाई भएन ।’
उदाहरणका लागि साउदी वा कतारमा अन्य बैंकहरुले संचालन गरेको रेमिटान्स बिजिनेशमा एक डलर बराबर २६ दिरामको एक्सचेञ्ज रेट लगाइन्छ । यो रेट एभरेष्ट बैंकले मान्दैन । उसले १ डलर बराबर २६.०६ दिरामको रेट दिन्छ । यही कारण एजेन्ट यो बैंकको रेमिटान्सतर्फ थुप्रिन्छन् र अरुलाई मारेर एभरेष्ट बैंकले रेमिटान्स बिजिनेश चम्काइरहेको छ ।
के छ निर्देशनमा ?
नेपाल राष्ट्रबैंकको विदेशी विनिमय व्यवस्थापन विभागले २०७१ साल मंसिर र माघमा रेमिटान्सको कारोबारका लागि इजाजतपत्र बैंकहरुलाई परिपत्र गर्दै स्पष्ट रुपमा फेडानले दिएको रेट अनुसार बैंकहरुले आफ्नो रेट निर्धारण गर्नुपर्ने बताएको छ ।
परिपत्र संख्या ६२९ मा नेपाल राष्ट्रबैंकले ‘विप्रेषण कारोबारलाई व्यवस्थित गर्ने सम्बन्धमा’ भनी क र ख वर्गका बैंक तथा बित्तीय संस्थालाई परिपत्र गरेको थियो । सो परिपत्रको २ नम्बर बुँदाको उपबुँदा (ग) मा स्पष्ट रुपमा बैंकले विदेशबाट विप्रेषण संकलन र आफ्ना ग्राहकलाई भुक्तानी गर्दा स्वदेशमा बैंक आफैंले सबैका लागि हुने गरी तोकेको प्रचलित विनिमय दर अनुसार गर्नुपर्नेछ भनिएको छ। बैंकले विदेशमा प्रदान गरेको विनिमय दर र स्वदेशको कारोबारमा प्रयोग गरेको विनिमय दरको दैनिक विवरण मासिक रुपमा पेश गर्नुपर्नेछ पनि भनिएको छ । यो बुँदा केही अस्पष्ट भएको गुनासो चौतर्फी भएपछि राष्ट्रबैंकको विदेशी विनिमय व्यवस्थापन विभागले ०७१ माघ २५ गते फेरि बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशनात्मक पत्र पठाउँदै फेडानले दिएको रेट मान्नुपर्ने भनेको छ । पत्रसंख्या ६३५ रहेको पछिल्लो निर्देशनमा राष्ट्रबैंकले रेमिटान्स कारोबार गर्ने बैंक तथा बित्तीय संस्था र विप्रेषण कम्पनीहरुलाई स्पष्ट रुपमा सम्बोधन गर्दै ‘विप्रेषणका लागि प्रयोग गर्ने विनिमय दर फेडानले उपलब्ध गराए अनुसार गर्नु’ भनिएको छ । मंसिरको निर्देशनलाई संसोधन गर्दै माघ भएको निर्देशनको ‘ग’ उपबुुँदामा भनिएको छ–‘बैंक तथा बित्तीय संस्था र रेमिटान्स कम्पनीहरुले विप्रेषणका लागि प्रयोग गर्ने विनिमय दरको सम्बन्धमा बैंकहरुले डकूमेन्ट्स प्रयोजनका लागि निर्धारण गरेको विनिमय दरबाट फेडानमार्फत औसत खरीद दर तय गरी प्रत्येक दिन बिहान १० बजे र दिनको २ बजे रेमिटान्स विनिमय दरको रुपमा प्रकाशित गर्नुपर्नेछ । सो दरलाई आधार मानी बैंक तथा बित्तीय संस्था र रेमिटान्स कम्पनीहरुले विप्रेषण प्रयोजनका लागि समान रुपमा विनिमय दर कायम गर्नुपर्नेछ । यसरी फेडानले दैनिक २ पटक प्रकाशन गर्ने रेमिटान्स विनिमय दर इजाजतपत्र प्राप्त सबै बैंक तथा बित्तीय संस्था र रेमिटान्स कम्पनीहरुलाई उपलब्ध गराउनुपर्नेछ ।’
दुवै परिपत्र विदेशी विनिमय व्यवस्थापन विभागका का.मु. कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले पठाएका छन् । उनै ढुंगाना अहिले सो विभागका कार्यकारी निर्देशक छन् । तर आफू का.मु. हुँदा गरिएको परिपत्रको एभरेष्ट बैंकले कार्यान्वयन नगर्दा समेत त्यस बिषयमा पहल कदमी लिन उनी हिचकिचाइरहेका देखिएको छ ।
सर्कुलर नै थाहा नपाउने कस्ता प्रवक्ता ?
नेपाल राष्ट्रबैंकका प्रवक्ता त्रिलोचन पंगेनीलाई राष्ट्रबैंकले बैंक, बित्तीय संस्था र रेमिटान्स कम्पनीहरुलाई विनिमय दरको बिषयमा दिएको निर्देशनको बिषय नै थाहा नभएको पाइयो । उनले बिजशालासँग कुरा गर्दै केन्द्रीय बैंकको लिखित निर्देशन विपरीत प्रतिक्रिया दिए । ‘खुल्ला बजार अर्थतन्त्रमा कुनै बैंकले बढी रेट लगायो भने त्यसलाई कसरी नराम्रो मान्ने ?’ प्रश्न गर्दै पंगेनीले भने–‘यो त राम्रै कुरा हो नि । एभरेष्ट वा अन्य कुनै बैंकले बढी रेट दियो भनेर अन्य बैंकले गुनासो गर्नुमा कुनै तुक छैन ।’ उसो भए खुल्ला रुपमा पहिलाको जस्तै सबै बैंकलाई आ आफ्नो ढंगले रेट तय गर्न र व्यवसाय गर्न दिएको भए हुन्थ्यो नि त, किन रोक लगाएर सर्कुलर गरेको त ? भन्ने हाम्रो प्रश्नपछि उनी अकमकाए । भने–‘त्यो बिषयमा त मलाई थाहा छैन ।’
के भन्छ एभरेष्ट बैंक ?
एभरेष्ट बैंकले केन्द्रीय बैंकको सर्कुलर नमानेको बिषयमा प्रतिक्रिया लिन सूचना अधिकृत एके बंशलको प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् । कर्मचारीले मार्केटिङ विभागमा ट्रान्सफर गरेको फोनमा सो विभागमा कार्यरत सन्दीप नामका एक व्यक्तिले ‘यो घटना पुरानो भइसकेको’ मात्र भने । तर, अहिले पनि उजुरी परेको छ भन्ने कुरा गर्दा भने–‘उसो भए तपाईंले मार्केटिङ प्रमुख रञ्जन खड्कासँग कुरा गर्न सक्नुहुन्छ ।’ त्यसपछि खड्का सम्पर्कमै आउन चाहेनन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago