काठमाण्डौ । गणपति माइक्रो फाइनान्स वित्तीय संस्था लिमीटेडले रु. ३ करोड मूल्यको आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको छ । 

सो क्रममा कम्पनीले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ । 

कम्पनीले प्रति शेयर रु.१०० अंकित दरको ३,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुका लागि निश्कासन गर्न लागेको छ । 

सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटा र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरे । 

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडको अधिकृतपूँजी रु.२० करोड, जारी पूँजी रु.१० करोड र चुक्तापूँजी रु.७ करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरेपश्चात संस्थाको चुक्तापूँजी रु.१० करोड हुनेछ । 

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ आषाढ १३ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । 

२०७३ साल कार्तिक ३० गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । 

दुलेगौढा, तनहुँमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काभ्रे, सिन्धुली, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तुु र दाङ्गमा, गरी जम्मा २० वटा शाखा कार्यालय मार्फत् १०,४२८ विपन्न वर्गका समूहहरुलाई रु.५६ करोड कर्जा प्रवाह गरेको छ । त्यसैगरी बचत संकलन रु.१३ करोड २६ लाख रहेको छ ।