काठमाण्डौ । गण्डकी विकास बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा २० करोड ४५ लाख खूद नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्षको यही अवधिको तुलनामा यो नाफा १२.६५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यो बैंकले १८ करोड १५ लाख खूद नाफा आर्जन गरेको थियो ।

बैंकले मंगलबार सार्वजनिक गरेको दोश्रो त्रैमासको अपरिस्कृत विवरणअनुसार खूद ब्याज आम्दानीतर्फ राम्रो  बढोत्तरी भएको देखिएको छ ।

अघिल्लो वर्ष ३४ करोड ७८ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर समीक्षा अवधिमा ४५ करोड ३७ लाखको उचाईमा पुगेको छ ।

बैंकले यो अवधिमा १९ अर्ब ९२ करोड निक्षेप संकलन गरी १७ अर्ब ५६ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १२ अर्ब ५९ करोड निक्षेप संकलन गरी ११ अर्ब १३ करोड कर्जा परिचालन गरेको थियो ।

बैंकको रिजर्ब कोषमा कमालको प्रगति भएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ४६ करोड ५५ लाखमा सीमित रिजर्ब कोषको आकार बढेर १ अर्ब १३ करोडको उचाईमा पुगेको हो ।

बैंकको खराब कर्जा केही बढेको छ । अघिल्लो वर्ष ०.८४ प्रतिशत रहेको यस्तो कर्जा बढेर ०.८८ प्रतिशत पुगेको हो ।

एक अर्ब १९ करोड रुपैयाँ रहेको चुक्तापूँजी बढेर १ अर्ब ८४ करोडको उचाईमा पुग्दा यो अनुसार आम्दानी बढाउन नसक्दा र नाफा आर्जन गर्न नसक्दा बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ। अघिल्लो वर्ष ३० रुपैयाँ २६ पैसा रहेको इपीएस घटेर २२ रुपैयाँ १८ पैसामा सीमित बन्न पुगेको हो । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६१.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.४६ गुणा कायम भएको छ ।