पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसियसनमा आबद्ध रही साविकको गण्डकी धौलागिरी अञ्चल अन्तर्गतका विभिन्न जिल्लाहरूमा संचालित पेट्रोल पम्पहरूमा अबदेखि पेट्रोलको भुक्तानी विद्युतीय कारोबार ‘आइएमई पे’बाट गर्न सकिने भएको छ ।

मंगलबार पोखरामा आयोजित विशेष कार्यक्रमकाबीच सो सम्बन्धी सम्झौतापत्रमा ‘आइएमई पे’का तर्फबाट आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनका तर्फबाट अध्यक्ष राजन गोंगजुले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रमपछि संक्षिप्त मन्तव्य दिँदै पौडेलले यो सेवाबाट करिब ५४ वटा पेट्रोल पम्पबाट सेवा लिने सेवाग्राही लाभान्वित हुने प्रतिक्रिया दिए भने गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष गोंगजुले ‘आइएमई पे’ सँगको सहकार्यबाट पेट्रोलको भुक्तान विद्युुतीय माध्यमबाट गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।

सम्झौता हस्ताक्षर भएको दिनबाट दुई वर्षसम्म कायम हुनेछ । 

झन्डै २० हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी समेत हो ।