काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंक गण्डकी विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ५० करोड १८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ४० करोड २२ लाख मात्र नाफा कमाएको थियो । 

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण बैंकको खूद ब्याज आम्दानीतर्फ पनि उल्लेख्य प्रगति देखिएको छ । यो अवधिमा बैंकले १ अर्ब ४ करोड खूद ब्याज आम्दानी गरेको छ, जबकि अघिल्लो वर्ष यस्तो आम्दानी ७६ करोड ४२ लाखमा सीमित थियो । 

अघिल्लो वर्ष ६१ करोड ६४ लाखमा सीमित संचालन नाफा बढाएर ७७ करोड ९२ लाख पुर्याएको बैंकले रिजर्बकोषको वृद्धिमा फड्को हानेको छ । अघिल्लो वर्ष ४८ करोड ४९ लाख रुपैयाँ रहेको रिजर्बको आकार बढी १ अर्ब १ करोडको उचाई चुमेको हो । 

समीक्षा अवधिमा गण्डकी विकास बैंकले २३ अर्ब ५२ करोड निक्षेप संकलन गरी २० अर्ब ६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १८ अर्ब ३३ करोड निक्षेप संकलन गरी १६ अर्ब ५१ करोड कर्जा परिचालन गरेको थियो । 

यो अवधिमा बैंकको खराब कर्जा अनुपात स्थिर रहेको छ । अघिल्लो वर्ष ०.४१ प्रतिशत रहेको खराब कर्जा अनुपात यो वर्ष पनि ०.४१ प्रतिशत नै छ । 

समीक्षा अवधिमा गण्डकी विकास बैंकको प्रतिसेयर आम्दानी १८.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३६.९० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.२३ गुणा कायम भएको छ ।