काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा १ अर्ब ९० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। 

कम्पनीको यो व्यवसाय अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.२२ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले ३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी प्रिमियम कलेक्सन गरेको थियो। 

व्यवसायसँगै कम्पनीको खुद नाफामा समेत संकुचन देखिएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म १६ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा १० करोड ५० लाख रुपैयाँमात्रै नाफा कमाएको छ। यस अवधिसम्म कम्पनीको मुनाफा ३६.९६ प्रतिशतले घटेको हो। 

समीक्षा अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी घटेसँगै नाफामा संकुचन देखिएको हो। यस्तो आय १८.४८ प्रतिशतले घटेर ५२ करोड ८७ लाख रुपैयाँमा सीमित हुन पुगेको छ। 

यस अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च र अभिकर्ता कमिसन दुवै घटेको छ। व्यवस्थापन खर्च ५०.५४ प्रतिशतले घटेको छ भने अभिकर्ता कमिसन ५७.२५ प्रतिशतले घटेर २८ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीले कोषहरुको आकार भने बढाउन सफल भएको छ। समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार ४०.२९ प्रतिशतले बढेर ७ अर्ब २४ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ। त्यस्तै जगेडा कोषको आकार ७.०१ प्रतिशतले बढेर ७४ करोड ७३ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.१८ रुपैयाँले घटेर २.२४ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिसेयर नेवटर्थ ११९.० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८७.७३ रुपैयाँ रहेको छ।