काठमाडौं। नयाँ गभर्नरका लागि तीनजनाको नाम सिफारिस भएको छ । 

अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले रिक्त गभर्नर पदमा राष्टबैंकका डेपुटी गभर्नर(हाल कामू गभर्नर) चिन्तामणि शिवाकोटी, पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महासप्रसाद अधिकारी र पूर्व अर्थसचिव राजन खनालको नाम सिफारिस गरेको हो । 

सिफारिसमा परेका तीन नाम मन्त्रीपरिषद बैठकमा अर्थमन्त्री डा. खतिवडाले सिफारिस गर्नेछन् । सिफारिस तीन नाममध्येबाट एकजनालाई मन्त्रीपरिषद बैठकले गभर्नर नियुक्त गर्नेछ । 

मन्त्रीपरिषदको बैठक आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । यही बैठकले सिफारिस तीन नाममध्येबाट एकजनालाई गभर्नर नियुक्तको निर्णय गर्नसक्ने स्रोतको भनाई छ । 

यसअघि सरकारले अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा तीन सदस्यीय गभर्नर सिफारिस समित बनाएको थियो । समितिमा पूर्व गभर्नरको तर्फबाट विजयनाथ भट्टराइृ र पूर्व सचिव कृष्णहरि बाँस्कोटा सदस्य थिए । 

गभर्नरका लागि सिफारिस तीनवटै नाम निकै बलियो दाबेदारका रहेकाले यो पटकको गभर्नर नियुक्तिको विषय अन्तिम अवस्थामा निकै रोचक बन्ने देखिएको छ । 

चैत ५ गते तत्कालीन गभर्नर डा. चिरञ्जिवी नेपालको कार्यकाल सकिएपछि नेपाल राष्टबैंकको कमाण्डर कामू गभर्नरको हिसाबले वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सम्हालिरहेका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र हुन् र ओलीले चाहे पनि उनी निर्विकल्प गभर्नर बन्नसक्छन् । 

तर, ओलीको विश्वासपात्रको रुपमा अनवरत काम गरिरहेका अर्थमन्त्री डा. खतिवडाको सुझाव समेत कार्यान्वयन हुने प्रवल संभावना छ । त्यसो भयो भने खतिवडाले पहिलो प्राथमिकता डा. राजन खनाललाई दिनेछन् । उनले केही समयअघि एउटा कार्यक्रममा अबको गभर्नर पनि डा. उपाधि प्राप्त व्यक्ति नै हुने बताएका थिए । यो कुरा सुनेकाहरुले गभर्नरको रुपमा डा. राजन खनाल आउँछन् भनेर ठोकुवा गरिरहेका छन् । 

डा. खतिवडा केन्द्रीय बैंकको गभर्नर हुँदा उनको कार्यकाल सफल बनाउन निकै ठूलो योगदान दिएका उनका अर्का प्रिय पात्र महाप्रसाद अधिकारी समेत सिफारिसमा परेका छन् । अन्तिम अवस्थामा अर्थसचिव खनाल र शिवाकोटीको नाममा झमेला भए तेश्रो विकल्पको रुपमा महाप्रसाद अधिकारीको भाग्य चम्किनसक्ने संभावना समेत अधिक रहेको स्रोत दाबी गर्छ ।