काठमाण्डौ । अर्थमन्त्री निकट स्रोतले सोमबार बिहान जानकारी दियो–नयाँ गभर्नरका लागि तीन जनाको नाम सिफारिस भयो, नियुक्ति संभवतः आजै हुनेछ । अन्ततः गभर्नर नियुक्ति आजै भयो र नेपाल राष्ट्रबैंकको कमान सम्हाल्न आइपुगे महाप्रसाद अधिकारी । 

अर्थ मन्त्रालय स्रोतले भनेको तीनजनाको नाम सिफारिस भएको र संभवतः आजै नियुक्ति हुनसक्ने सूचना सही सावित भयो । तर, त्यहाँबाट गभर्नरका लागि सिफारिस भनी उपलब्ध गराइएका तीन नाममध्ये निर्णयका लागि मन्त्रीपरिषदसम्म पुग्दा एउटा नाममा केरमेट खेल चलिसकेको थियो । त्यो नाम थियो डा. राजन खनालको । 

पूर्व अर्थसचिव समेत रहेका डा. खनालको नाम अन्तिम अवस्थामा केरमेट गरी मेट्न अर्थमन्त्री डा. खतिवडा बाध्य बनेका थिए । 

उच्च स्रोतका अनुसार यस्तो अवस्था सत्तासीन नेकपाभित्र अझै पनि जारी पूर्व माओवादी र पूर्व एमालेको भावनाले काम गरेको थियो । 

सरकारले गर्ने हरेक महत्वपूर्ण नियुक्तिमा यी दुई पूर्व पार्टी(दुई खेमा)बीच भागबण्डा चल्दै आएको छ । यसैको असर गभर्नरका लागि भनी ठीक्क पारिएका तीन नाममध्ये खनालको नाममा परेको थियो । 

अर्थमन्त्री डा. खतिवडाको नेतृत्वमा गठित गभर्नर छनौट समितिको बैठक नबसे पनि सिफारिस हुने ३ नाम अर्थमन्त्रीले आइतबार साँझ नै तयार गरिसकेका थिए । सिफारिस समिति औपचारिकताका लागि मात्र गठन हुन्छ, सिफारिस नाममा बहालवाला अर्थमन्त्रीकै रजगज चल्छ । यसपटक पनि त्यही भयो । 

सिफारिस गरिने नामका विषयमा उनले पार्टीका केही सचिवालय सदस्यहरुसँग समेत सेयर गरेका थिए । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालसँग पनि कुराकानी भएको थियो । अर्थमन्त्रीले बनाएको लिस्टमा महाप्रसाद अधिकारी, चिन्तामणि शिवाकोटी र डा. राजन खनालकै नाम थियो । 

तर, खेल सोमबार बिहान घाम उदाइसक्दा बिग्रिसकेको थियो । नेकपामा सक्रिय पूर्व माओवादीका नेताहरुले गभर्नरका लागि सिफारिस नाममा पनि आफ्नो भाग खोजे । उनीहरुले गभर्नर सिफारिसमा आफू निकटका व्यक्तिको नाम पार्नैपर्ने राजनीतिक दवाब सिर्जना गरे । जसको कोपभाजनमा परे डा. राजन खनाल । 

त्यसपछि अर्थमन्त्री डा. खतिवडाले अन्तिम अवस्थामा खनालको नाम मेटेर त्यसमा प्रचण्डका प्रिय पात्र मानिने मीनबहादुर श्रेष्ठको नाम थपियो । क्याबिनेटमा सिफारिस भएका नाम भनी प्रस्तुत हुँदा महाप्रसाद अधिकारी, चिन्तामणि शिवाकोटी र डा. मिनबहादुर श्रेष्ठको नाम आएको थियो । 

आजको मन्त्रीपरिषद बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कोटाबाट आएको नाम(मीनबहादुर)मा सहमति जनाउने संभावना थिएन । चिन्तामणि र महाप्रसादबीचको नाम छनौटमा अर्थमन्त्री डा. खतिवडाको ब्रिफिङले काम गर्यो । लामो समयदेखि विश्वास गरी देशको अर्थतन्त्रको बागडोर नै जिम्मा लगाइएका आफ्ना प्रियपात्र डा. खतिवडाको कुरामा प्रम ओली सहमत नहुने कुरै भएन । र, अन्तिम अवस्थामा नतिजा आयो: गभर्नरमा महाप्रसाद अधिकारी नै ठीक पात्र हुन् । यो निश्कर्षसहित महाप्रसादलाई राष्ट्रबैंकको १७ औं गभर्नर बनाइयो । 

तर, यी चार बाहेक पनि एमालेका शक्तिशाली नेता तथा एमाले निकटका वित्तीय क्षेत्रमा सक्रियहरुको वृत्तमा भने गभर्नरको प्रवल दाबेदार भनी पाँचौ नाम पनि चर्चामा थियो । ‘हिजोसम्म पूर्व राजश्व सचिव लालशंकर घिमिरेको नाम पो गभर्नरको रुपमा पार्टी वृत्तमा आएको थियो त !’पूर्व एमालेका एक नेताले आश्चर्य मान्दै भने–‘भावी गभर्नरमा लालशंकर घिमिरेलाई ल्याउने तयारी भइरहेको सूचना आएको थियो । बीचमा कसरी बिग्रियो थाहा भएन ।’ 

संभवत लालशंकर घिमिरेको नाममा अर्थमन्त्रीले चित्त नबुझाएपछि महाप्रसादको भाग्य चम्किएको हुनसक्ने ती नेताको अनुमान छ । 

क्याबिनेटमै पनि महाप्रसाद अधिकारीको सन्तुलित कार्यशैली र शालीन व्यक्तित्वका कारण उनको नाममा पूर्व माओवादीतर्फबाट मन्त्री भएकाहरुले आपत्ति जनाउने आँट गरेनन् । 

लगानी बोर्डमा को ? 
अर्थमन्त्री डा. खतिवडाले पूर्व अर्थसचिव डा. राजन खनाललाई सकेसम्म गभर्नर नै बनाउन चाहेका थिए । तर, अन्तिम अवस्थामा महाप्रसाद अधिकारीप्रति प्रधानमन्त्री ओलीको समेत सदाशयता रहने बुझेपछि उनले आफ्ना प्रिय पात्रमध्येका एक डा. खनाललाई गभर्नरको ३ नाममा सिफारिस गर्ने र त्यसपछि महाप्रसादले सम्हालिरहेको लगानी बोर्डमा लैजान चाहेका थिए । तर, अर्थमन्त्री खतिवडाको यो योजना सफल नहुनसक्छ । कारण, पूर्व माओवादीले डा. मीनबहादुुर श्रेष्ठको नाममा अन्तिम समयमा गभर्नरका लागि सिफारिस ३ नाममा घुसाउनुको उद्देश्यले भोलि उनलाई लगानी बोर्डमा व्यवस्थापन गर्नु रहेको स्रोत बताउँछ । 

‘महाप्रसाद गभर्नर बनेपछि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको भाग पूर्व माओवादीले पाउने देखिन्छ ।’ स्रोत भन्छ–‘राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका मीनबहादुर सो पदमा काम गर्न तयार हुन्छन् या हुँदैनन्, त्यो उनको कुरा हो । उनी नआए पनि लगानी बोर्डमा भने पूर्व माओवादीले आफ्नो भाग खोजेको यसले देखाउँछ।’