काठमाण्डौ । धितोपत्र बोर्डले गरिमा विकास बैंक लिमीटेडलाई १० बराबर ७ को अनुपातमा हकप्रद निश्कासनको अनुमति दिएको छ । 

बैंकले १ सय अंकित मूल्यका कुल ९० लाख ७६ हजार २ सय ९६ कित्ता हकप्रद निश्कासनको अनुमति पाएको हो । 

यो बैंकको हकप्रद निश्कासन तथा व्यवस्थापनमा एस क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । 

यो बैंकको चुक्तापूँजी १ अर्ब २९ करोड रुपैयाँ रहेकोछ । हकप्रदपछि २ अर्ब १९ करोड रुपैयाँ पुुग्नेछ । यो बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १६ करोडको हाराहारीमा खूद नाफा आर्जन गरेको थियो । 

यसैबीच, बोर्डबाट हकप्रद निश्कासनको अनुमति पाएपछि बैंकले एक सूचना प्रकाशित गरी बुक क्लोजको मिति तोकेको छ । बैंकका अनुसार आगामी चैत ३० गतेलाई बुक क्लोज मिति तोकिएको छ । यसको अर्थ चैत २९ गतेभित्र यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रद भर्न पाउनेछन् ।