काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड स्थापनाको १० औं बर्ष पूरा गरी ११ बर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले बिहीबार मुलुकका ५ स्थानमा  न्यानो कपडा वितरण गरेको छ । 

तडकभडकपुर्ण कार्यक्रमभन्दा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै बैंकले काठमाण्डौं, तनहु, स्याङ्जा, म्याग्दी लगायत जिल्लाहरुमा अति विपन्नहरुलाई लत्ताकपडा बितरण गरेको हो ।

काठमाण्डौंको पशुपति मन्दिर आसपासको सडकमा बस्ने अति बिपन्न व्याक्तिहरुहरुलाई बैंकले एक कार्यक्रमका बीच न्यानो कपडा बितरण गरेको हो । त्यसैगरी, चितवन तथा तनहुँ जिल्ला अन्तर्गतको देवघाटका विभिन्न आश्रममा बस्ने जेष्ठ नागरिकहरुलाई पनि बैंकले लत्ताकपडा बितरण गरेको छ । स्याङ्गजा तथा पाल्पा जिल्लाको राम्दीधामस्थित आश्रम र पाखीचौर स्थित निम्बार्क सत्सङ आश्रममा बस्ने जेष्ठ नागरिक र म्याग्दी जिल्लाको गलेश्वरस्थित आश्रममा बस्ने जेष्ठ नागरिकहरुलाई पनि बिहीबार नै बैंकले लत्ता कपडा बितरण गरेको हो । 

काठमाण्डौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा आयोजित कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले विपन्न वर्गलाई लत्ता कपडा बितरण गरेका थिए । देवघाट धाममा विकास बैंकका पूूर्व संचालक सिद्धकुमार श्रेष्ठ, राम्दीधाममा वालिङ्ग नगरपालिकाका मेयर तथा विकास बैंकका पूर्वअध्यक्ष दिलिप्रपताप खाँण, पाखीचौर स्याङ्गजामा गल्याङ्ग नगरपालिकाका मेयर भुपराज अधिकारी र गलेश्वर आश्रम म्याग्दीमा वेनी नगरपालिकाका मेयर तथा विकास बैंकका पूर्व संचालक हरिकुमार श्रेष्ठले न्यानो कपडा वितरण गरेका थिए । न्यानो कपडा वितरणसंगै विकास बैंकले ती आश्रमहरुमा बस्ने जेष्ठ नागरिकहरुलाई बिहानको खाना खुवाएको छ। 

पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रकान्त बरालले आगामी दिनमा समेत सामाजिक क्रियाकलापमा हातेमालो गर्दै अगाडि बढ्ने बताएका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बैंकले विकास बैंकले व्यवसायको विस्तारको तीब्रता संगसंगै सामाजिक उत्तरदायित्वमा केन्द्रित हुने बताएका थिए । 

गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । पोखराबाट काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको बैंकले ४९ शाखा तथा १२ वटा एटीएमबाट सेवा दिँदै आएको छ । बैंकले निकट भविष्यमा नै प्रदेश नम्बर १ का मोरङ्ग, झापा र सुनसरीमा १० वटा शाखा कार्यालय स्थापना गर्दैछ । बैंकले करिब १६ अर्ब ५० करोेड निक्षेप संकलन गरी १४ अर्ब ६० करोड कर्जा लगानी गरेको छ ।