काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब आमउपभोक्ताले तरकारी किन्दा पनि नगद बोकेर जानु नपर्ने दिन आउने बताएका छन्।
बैंकर्स एसोसिएसनको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अबको एक वर्षभित्र केन्द्रीय बैंकले तरकारी किन्न जाँदा डिजिटल भुक्तानी नीति अवलम्बन गर्न लागेको जानकारी गराएका हुन्। ‘हामी भुक्तानी प्रणालीको परम्परागत ढाँचामा ठोस परिवर्तन खोजिरहेका छौँ’, उनले भने, ‘अबको एक वर्षभित्र तरकारी किन्दा पनि नगद बोकेर जानुपर्ने अवस्थाको अन्त्य हुनेछ।’
अधिकारीले अब तरकारी बजारमा पनि क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने वातावरण बन्ने बताए। ‘गत सातामत्रै यसको सुरुआत भइसकेको छ’, उनले भने, ‘अब हरेक बैंकका शाखाहरु यो प्रणालीमा लगाउन म आग्रह गर्छु।’
गत शुक्रबार गभर्नर अधिकारीले काठमाडौंको नक्सालस्थित तरकारी बजारमा क्युआरकोडबाट भुक्तानीको सुरुवात गरेका थिए। अधिकारीले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीहरुलाई आफ्नो हेडक्वाटर र शाखा कार्यालय आसपासमा रहेका कम्तिमा एक तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानीको सुरुवात गर्न निर्देशनसमेत दिए।
अधिकारीले क्यूआरबाट भुक्तानी गर्दा अन्य कार्डबाट जस्तो पैसा विदेशिने अवस्था नरहने स्पष्ट पारे। कोरोना महामारीको यो बेला भुक्तानीको यो माध्यम निकै उपयुक्त हुने उनको भनाइ छ।
अधिकारीले विद्युतीय भुक्तानीका लागि पूर्वाधारहरु बनिसकेको उल्लेख गर्दै यसमा केन्द्रीय बैंक, बैंकर्स एसोसिएसनलगायतका संस्थाहरुको पनि योगदान रहेको बताए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago