काठमाण्डौ । दुर्गम र विकट क्षेत्रमा बित्तीय पहुँच बिस्तारको उद्देश्यले नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाको शाखा बिस्तारका लागि नयाँ व्यवस्था लागू गरेको छ । 

राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई मंगलबार निर्देशन जारी गर्दै गाविसमा शाखा खोल्नु परे पूर्व स्वीकृति नलिए पनि हुने व्यवस्था गरिएको स्पष्ट पारेको हो । 

नयाँ व्यवस्था अनुसार गाविसमा शाखा खोल्ने निर्णय बैंक तथा बित्तीय संस्थाले गर्न सक्ने, तर त्यो निर्णय गरेको सात दिनभित्र राष्ट्रबैंकलाई जानकारी दिनुपर्नेछ । 

काठमाण्डौ उपत्यका, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका केन्द्रहरुमा शाखा खोल्नलाई भने पूर्व स्वीकृति अनिवार्य हुने निर्देशनमा स्पष्ट पारिएको छ । 

यसैगरी, केन्द्रीय बैंकले भूकम्पबाट अति प्रभावित काठमाण्डौ उपत्यका बाहेकका जिल्लाहरुमा साबिकको स्थानमै बैंक तथा बित्तीय संस्थाको शाखाहरु संचालन गर्न असंभव भए अन्य उपयुक्त स्थानमा स्थानान्तरणका लागि पनि पहिला जस्तो स्वीकृति लिनैपर्ने अनिवार्य व्यवस्था समेत हटाइएको स्पष्ट पारेको छ । तर शाखा स्थानान्तरण गरेपछि भने राष्ट्रबैंकलाई सो बिषयमा समयमै जानकारी गराउनुपर्ने छ ।