काठमाण्डौ। गुगलले भारती एयरटेलमा १ अर्ब डलर लगानी गर्ने भएको छ। 

गुगलको यो निर्णयले एयरटेललाई डिजिटल कभरेज बढाउन मद्दत गर्ने विश्वास गरिएको छ। सम्झौताअनुसार गुगलले ७० करोड डलर लगानी गरेर भारती एयरटेलको १.२८ प्रतिशत हिस्सा लिनेछ। यसबाहेक गुगलले आगामी दिनमा कमर्सियल एग्रिमेन्टहरुमा ३० करोड डलर लगानी गर्नेछ।

जानकारीका अनुसार गुगलले भारती एयरटेलको १.२८ प्रतिशत सेयर ७३४ रुपैयाँ प्रतिसेयरको मूल्यमा खरिद गर्नेछ। 

एयरटेलद्वारा जारी विज्ञप्तिअनुसार गुगलले सस्ता फोनहरु विकास गर्न र फाइभजी प्रविधिको अनुसन्धान गर्न भारती एयरटेलसँग मिलेर काम गर्नेछ।

हाल मित्तल परिवार र एयरटेलको प्रवर्तक समूह सिंगटेलको ५५.९३ प्रतिशत हिस्सा छ। मित्तल परिवारको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब २४.१३ प्रतिशत हिस्सा छ भने सिंगटेलको ३१.७२ प्रतिशत हिस्सा छ। – एजेन्सी