काठमाण्डौ । गुड्विल फाइनान्स लिमीटेडले असोज १ गते(आज)देखि अबितरि हकप्रदको लिलामीका लागि आवेदन प्रक्रिया खुल्ला गरेको छ । 

यो फाइनान्स कम्पनीले बिक्री नभएको ८१ हजार ७ सय २५ कित्ता साधारण सेयरको बोलकबोलबाट बिक्रीका लागि आवेदन खुलाएको हो । 

कम्पनीले गत असार १८ देखि साउन २२ गतेसम्म हकप्रदको निश्कासन गरेकोमा सो अवधिभित्र बिक्री नभएको सेयर लिलामीबाट बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो । 

लिलामीमा प्रक्रियामा सहभागी हुन चाहनेले आगामी असोज १० गतेसम्म गोप्य शिलबन्दी पेश गरिसक्नुुपर्नेछ । परेका बोलपत्रहरु असोज १८ गते खोलिने बिक्री प्रबन्धकको काम गरिरहेको एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले जनाएको छ । 

इच्छुक लगानीकर्ताले प्रति कित्ता न्यूनतम १ सय रुपैयाँ मूल्य राख्नुपर्नेछ भने न्यूनतम १ सय कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ । 

इच्छुकले एनआइबिएल क्यापिटल मार्केटको काठमाण्डौको लाजिम्पाटस्थित मुख्य कार्यालयमा गएर बोलपत्र दर्ता गराउनसक्ने व्यवस्था गरिएको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी ४५ करोड ३७ लाख रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी बढेर ७२ करोड ६० लाखको उचाईमा पुुग्नेछ । 

यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १८० रुपैयाँ रहेको छ ।