काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले बुधबारदेखि गोरखाको सुलिकोट गाउँपालिकामा नयाँ शाखाबाट कारोवार शुभारम्भ गरेको छ ।

नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा पुर्याउने नीतिअनुरुप यो शाखा खोलिएको हो। 

सुलिकोट गाउँपालिका वडा नं. ६, पाल्खुमा रहेको यो बैंकको ९६ औं शाखा हो । बि.सं. २०७२ को विनासकारी भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकसहित गोरखा जिल्लाका ग्रामीण क्षेत्रका साबिकका ८ गा.वि.स. समेटिएर बनेको सुलिकोट गाउँपालिकाको समेत कारोवार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै गाउँपालिकाका जनताहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुबिधा लिई जीबनस्तर सहज बनाउन सक्ने बैंकको अपेक्षा छ ।

यसका साथै यस बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले विभिन्न बिमा कम्पनीहरुसँग सम्झौता गर्ने क्रममा प्राइम लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

सो सम्झौतामा जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र प्राइम लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । 

यो सम्झौतापछि ग्राहकहरुले जनता बैंकको सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा उक्त कम्पनीको बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबीभुक्तानीलगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्नसक्ने विज्ञप्तिमा जनाइएको छ ।