काठमाण्डौ । एनआइसी एशिया बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ८, सिउरेनीटारमा आफ्नो ४१ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । 

बैंकले संचालनमा ल्याएको सिउरेनीटार शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन गण्डकी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष रामप्रसाद रेग्मीले गरे । 

उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा विनोद नहर्की नियुक्त भएका छन् । 

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिनसक्ने बैंकले जनाएको छ । 

साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । 

यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

हाल यो बैंकको देशभर २९० शाखा कार्यालय, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु उत्साहप्रद रहेका छन् ।