काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा गोर्खाज फाइनान्सको नाफा उछाल आएको छ। 

कम्पनीले आज सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो। समीक्षा अवधिमा कम्पनीले ६ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८५.१८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीले ८ करोड ८३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो मुनाफा ४ करोड ८५ लाख रुपैयाँ थियो। यस हिसाबले कम्पनीको सञ्चालन मुनाफा पनि ८१.८९ प्रतिशतले बढेको छ। 

कम्पनीको खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा १५.५३ प्रतिशतले बढेर ९ करोड ३७ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा खुद ब्याज आम्दानी ८ करोड ११ लाख रुपैयाँ थियो। 

कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) बढेर ९.८९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ७.४२ प्रतिशत थियो। खराब कर्जा मेन्टन गर्न कम्पनीले १ करोड ८५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्याएको छ। यस्तो चार्ज अघिल्लो वर्ष यही अवधिमा २ करोड ३ लाख रुपैयाँ छुट्याइएको थियो। 

कम्पनीले ७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। 

चुक्तापुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार २.८८ प्रतिशतले घटेर ९६ करोड ९५ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा ९९ करोड ८२ लाख रुपैयाँ थियो। 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८५.२१ प्रतिशतले बढेर २८.४३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १५.३५ रुपैयाँमा सीमित थियो। पीई रेसियो १८.१९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १६७.१६ रुपैयाँ रहेको छ। 

दोस्रो बजारमा यो कम्पनीको सेयर प्रतिकित्ता ५०० रुपैयाँमा अन्तिम कारोबार भएको छ।