– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । चन्द्रगिरी हिल्स लिमिटेड एक ऐतिहासिक स्थल चन्द्रगिरी डाँडामा अवस्थित रहेको छ। यो कम्पनीको इतिहास हेर्ने हो भने सुरुमा सन् २००९ मा काठमाण्डौ फनपार्कका रुपमा स्थापित भएको थियो। यो कम्पनी पछि सन् २०१६ को मे १६ मा चन्द्रगिरी हिल्स लिमिटेडका रुपमा स्थापित भएको हो। 

करिब ३६ हेक्टर जग्गा लिजमा लिएर चलाइएको यो कम्पनीको हाल फनपार्क, रिसोर्ट र केबलकार सेवा   सञ्चालमा रहेका छन्। खासगरी यो कम्पनी एक व्यासायिक समूह आइएमई ग्रुपद्वारा सञ्चालित रहेको छ। 

आधाभूत पक्ष

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यो कम्पनीको चुक्तापुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। कम्पनीले ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ५ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि उल्लेखनीय सुधार भएको छ। अघिल्लो वर्ष ३८ पैसाले ऋणात्मक रहेको ईपीएस समीक्षा अवधिमा ३.३६ रुपैयाँ रहेको छ। कम्पनीको बुक भ्यालु ७७.६४ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बुक भ्यालु ७२.७२ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर कुल सम्पत्ति २५८ रुपैयाँ रहेको छ। कम्पनीमा ८८ प्रतिशत संस्थापक र १२ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको छ। 

प्राविधिक पक्ष

फियर एन्ड ग्रिड मिटरका आधारमा 

फियर एन्ड ग्रिड मिटर एक सहज रुपमा कुनै पनि कम्पनीमा लगानीकर्ताको सेन्टिमेन्ट बुझ्ने इन्डिकेटर हो। यसमा बुलिस, बियरिस र न्युट्रल सेन्टिमेन्ट भन्ने हुन्छ। बियरिस सेन्टिमेन्ट भनेको लगानीकर्ता अधिक डराएको भन्ने हो भने बुलिस सेन्टिमेन्ट भनेको लगानीकर्ता बढी हौसिएको भन्ने हो। न्युट्रल सेन्टिमेन्टमा लगानीकर्ताको सेन्टिमेन्ट पनि सामान्य रहेको भन्ने बुझिन्छ। 

हालको अवस्थामा लगाानीकर्ता यस कम्पनीका न्युट्रल सेन्टिमेन्टमा रहेको भन्ने हो। हाल दोस्रो बजारमा १२९५ रुपैयाँमा अन्तिम कारोबार भएको यो कम्पनीको ५२ सातामा उच्च मूल्य १४०९ रुपैयाँ र न्यून मूल्य ९२४ रुपैयाँ रहेको थियो।

बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा

बोलिंगर ब्यान्डका आधारमा यो कम्पनीको मूल्यरेखाले मध्यब्यान्ड छोडेर तल झरेको छ। यसले कम्पनीको सेयरमा बिक्री दबाब परेको बुझिन्छ। गएको कारोबारमा ग्याप डाउन ओपनिङ भएको छ। यसले पनि केही बिक्री दबाब रहेको बुझिन्छ। 

म्याक्डीमा गत २९ जनवरीमा बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्।

आरएसआईमा ५३ को न्युट्रल जोनमा रहेको छ। समग्रमा यो कम्पनीमा बिक्री दबाब नै रहेको देखिन्छ। 

सुपर ट्रेन्डका आधारमा 

यो कम्पनी सुपर ट्रेन्डका आधारमा बुलिस नै रहेको देखिन्छ। यदि मूल्यरेखाहरु सुपर ट्रेन्डभन्दा माथि रहेमा कम्पनीको सेयरभाउ बुलिस र तल भएमा बियरिस भन्ने हुन्छ। हाल कम्पनीको सेयर सुपर ट्रेन्डभन्दा माथि रहेकोले यो कम्पनीको सेयरभाउ बुलिस रहेको बुझिन्छ। 

पिभट प्वइन्टका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। पिभट प्वइन्टका आधारमा यो साता कम्पनीले बढेमा र घटेमा न्यून विन्दुमा सपोर्ट र प्रतिरोध सामना गर्नेछ। 

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– १३८६
  • प्रतिरोध २– १४३७
  • प्रतिरोध ३– १४८५

पिभट प्वइन्टः १३३८

घटेमा सपोर्ट 

  • सपोर्ट १– १२८७ 
  • सपोर्ट २– १२३९
  • सपोर्ट ३– ११८८

निष्कर्ष

आधारभूत रुपमा अघिल्लो वर्षको वित्तीय विवरणको  तुलनामा यो कम्पनीले चालु आर्थिक वर्षमा सुधार भएको देखिन्छ। अघिल्लो वर्षमा घाटा व्यहोरेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। योसँगै ईपीएस पनि सकारात्मक बनेको छ। कम्पनीको रिटर्न अन इक्विटी पनि बढ्दो क्रममा रहेको छ। यसले कम्पनीले वित्तीय स्वास्थ्यमा सुधार गर्दै गरेको देखिन्छ। 

प्राविधिक रुपमा कम्पनीको सेयरभाउ बोलिंगर ब्यान्डको मध्यब्यान्ड छोडेर तल झरेकोले मूल्यरेखा तल्लो ब्यान्डसम्म आउन सक्छ। अल्पकालमा केही करेक्सन हुन सक्ने देखिन्छ। तर, दीर्घकालमा भने कम्पनीको सेयरभाउ पुनः माथि नै जान सक्न सम्भावना पनि त्यत्तिकै रहेको छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।