काठमाण्डौ । वर्ष २०२३ बिदा भइसकेको छ । गत वर्ष कमाईको मामिलामा भारतमा त्यहाँको सबैभन्दा ठूलो आईटी कम्पनी एचसीएलका संस्थापक शिव नाडर सम्पत्ति आर्जनमा अन्यभन्दा अघि छन् । 

गत वर्ष दानको मामिलामा पनि नाडर सबैभन्दा अघि थिए । उनी सन् १९७६ मा एउटा ग्यारेजमा एचसीएल कम्पनीको स्थापना गरेका थिए । अहिले उनी भारतको चौथो धनाढ्य बन्न सफल भएका छन् । 

गत वर्ष अर्थात् सन् २०२३ मा उनको कुल सम्पत्तिमा ९.३९ अर्ब डलर थपियो । यससँगै उनको कुल सम्पत्तिको मूल्य ३३.९ अर्ब डलर पुग्यो । उनको एचसीएलमा ६१ प्रतिशत स्वामित्व छ । यस वर्ष कम्पनीको सेयरमा ४५ प्रतिशतभन्दा बढीको मूल्य वृद्धि देखिएको छ । 
ब्लुमबर्ग बिलिनीयर्स इन्डेक्सको रिपोर्ट अनुसार भारतको सबैभन्दा धेरै मूल्य भएको कम्पनी रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानीको कुल सम्पत्तिमा ९.२३ अर्ब डलर थपिएको छ । यससँगै उनको कुल सम्पत्ति ९६.३ अर्ब डलर पुगेको छ । तर अम्बानी कमाईको दुष्टिकोणबाट नाडरभन्दा पछि रहे । 

नाडर भारतको धनाढ्यको सूचीमा ४ औँ स्थानमा छन् भने विश्वको ४४ औँ स्थानमा छन् । तर दान दिने कुरामा भने उनको नजिक कोहि पनि छैनन् । लगातार दुई वर्षदेखि उनले भारतको सबैभन्दा ठूलो दानवीरको स्थान कब्जा गरेका छन् ।

शिव नाडरको जन्म १४ जुलाई,सन् १९४५ मा तमिलनाडुको एउटा सानो गाँउमा भएको थियो । बाल्यवस्थामा उनले आर्थिक अभावको सामना गर्नुपरेको थियो । कोयबन्टुरको पीएसजी कलेजबाट इलेक्ट्रिक र इलेक्ट्रोनिक इन्जिनियरिङको डिग्री लिएपछि उनले सन् १९६७ मा पुणेको बालचन्द्र ग्रूपको कलेज अफ इन्जिनियरिङबाट करिअरको सुरुवात गरेका थिए । 

त्यपछि उनी दिल्लीको डीसीएम ग्रूपमा कम्प्युटर प्रोग्रामरको रुपमा जागिर गर्न थाले । तर जागिरमा उनको मन थामिएन र सन् १९७६ मा आफ्ना साथीसँग मिलेर एचसीएल स्थापना गरे । 

हिन्दुस्तान कम्प्युटर्स लिमिटेड अर्थात् एचसीएलको सुरुवात एउटा ग्यारेजबाट भएको थियो । नाडरको नेतृत्वमा कम्पनीले दिन दुई गुणा र चार गुणा प्रगति गरयो र चाँडै नै ग्लोबल आईटी सर्भिसेस कम्पनी बन्न पुग्यो । आज ६० भन्दा बढी देशमा एचसीएलको उपस्थिती छ । कम्पनीमा २ लाख २२ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । 

सन् २०२० जुलाइमा नाडरले कम्पनीको अध्यक्ष पद छाडे र यसको जिम्मेवारी आफ्नी छोरीलाई सुम्पिए । अहिले उनी कम्पनीको चेयरम्यान एमेरिटस र रणनितीक सल्लाहकारका रुपमा छन् । 

सबैभन्दा ठूला दानवीर

७८ वर्षीय शिव नाडर भारतको दानवीरको सूचीमा दुई वर्षदेखि लागातार शीर्षस्थानमा छन् । रिपोर्टका अनुसार नाडरले सन् २०२३ मा २०४२ करोड भारु दान गरेका छन् । यस क्रममा उनले प्रत्येक दिन ५.६ करोड भारु दान गरेका छन् । त्यस्तै रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष तथा भारत र एशियाका शीर्ष धनाढ्य मुकेश अम्बानीले ३७६ करोड भारु दान गरेका छन् । 

नाडरले सन् १९९४ मा शिव नाडर फाउन्डेशन स्थापना गरेका थिए । जसले शिक्षा र ग्रामीण विकास जस्ता क्षेत्रमा काम गर्छ । कोरोना महामारीका बेला पनि उनले खुला मनले दान गरेका थिए । -एजेन्सी