काठमाण्डौ । नेपालमा बिक्री भइरहेको बीवाइडीका विद्युतीय गाडीको ग्राउण्ड क्लियरेन्स लगायतका फिचर्समा कम्पनीले गरिरहेको दाबी ‘शंकास्पद’ देखिएको छ । 

बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले अन्य देशमै प्रयोगमा आएका गाडीहरु नेपाल भित्र्याए पनि मुख्यमध्येको एक फिचर्स ग्राउण्ड क्लियरेन्समा द्विविधायुक्त दाबी पेश गर्दै मार्केटिङ गरिरहेको फेला परेको हो । 

गाडीहरु किन्दा ग्राहकले हेर्ने फिचर्समध्येको महत्वपूर्ण फिचर्स हो ग्राउण्ड क्लियरेन्स । बीवाइडीले हालैदेखि बजारमा ल्याएको ‘डल्फिन’ गाडीमा दाबी गर्ने गरेको ग्राउण्ड क्लियरेन्सको फिचर्स शंकास्पद देखिएको हो । 

नेपालमा चीन र थाइल्याण्डबाट बीवाइडीको डल्फिन गाडी भित्र्याइएको छ । अन्य मोडलका गाडी पनि तिनै देशबाट आउने गर्छन । बीवाइडीको डल्फिन गाडीको ग्राउण्ड क्लियरेन्स थाइल्याण्डमा १६० एमएम देखाइएको छ । चीनमा १२० एमएम मात्र देखाइएको छ । तर, सबै विशेषता उस्तै रहेको सोही मोडलको गाडी नेपाल भित्र्याएपछि भने कम्पनीले त्यसको ग्राउण्ड क्लियरेन्स १७५ एमएम भन्दै प्रचारप्रसार गरिरहेको छ । 

‘चीन र थाइल्याण्डमा १२० देखि १६० एमएमसम्मको ग्राउण्ड क्लियरेन्स भएको त्यही गाडी नेपाल आइपुग्दा कसरी १७५ एमएम पुग्यो ?’ स्रोतले प्रश्न गर्दै भनेको छ –‘गाडीको लेन्थ, वेट र हाइट उस्तै छ । ग्राउण्ड क्लियरेन्स मात्र कसरी नेपालमा बढी भयो त ? यसमा कम्पनीले ग्राहकहरुको विश्वासमाथि घात गरेको देखिन्छ ।’ 

नेपालमा डल्फिनको मूल्य ३९ लाख ८० हजार राखिएको छ । हालै सम्पन्न ‘नाडा अटो शो’मा बीवाइडीको डल्फिनले धेरैको ध्यान समेत तानेको थियो । यही मौकामा कम्पनीले तयार गरेको ब्राउसरमा भने ग्राउण्ड क्लियरेन्स सम्बन्धी गलत डेटा राखेर धोकाधडीको प्रयास भएको देखिएको छ । 

बीवाइडीको मोडल नम्बर ‘डल्फिन ३०.७ kWh' को थाइल्याण्डमा ग्राउण्ड क्लियरेन्स १६० एमएम देखाइएको छ । त्यहाँ यसको लेन्थ ४०७० एमएम, वाइड १७७० एमएम, हाइट १५७० एमएम र ह्वील बेस २७०० एमएम तथा कर्ब वेट १६६० केजी भनिएको छ । लिंकमा जानुहोस् । 

चीनमा भने सोही मोडलको गाडीको ग्राउण्ड क्लियरेन्स १२० एमएम देखाइएको छ । लेन्थ ४२९० एमएम छ भने वाइड १७७०, हाइट १५७०, ह्वील बेस २७०० र वेट १५०६ केजी देखाइएको छ । 

नेपालमा भने ग्राउण्ड क्लियरेन्स १७५ एमएम भन्दै अनधिकृत प्रचारप्रसार गरिएको छ । हेर्नुहोस् ब्राउसर । 

नेपालमा बिक्री भइरहेको बीवाइडी डल्फिनको लेन्थ ४२९० एमएम भनिएको छ भने वाइड १७७० एमएम, हाइट १५७० एमएम र ह्वील बेस पनि २७०० एमएम नै देखाइएको छ । चीनमा बिक्री हुने डल्फिनको फिचर्ससँग ठ्याक्कै मिल्ने फिचर्स नेपालमा भित्रिएका बीवाइडी डल्फिनमा देखिन्छ । तर, कम्पनीले ग्राउण्ड क्लियरेन्समा भने शंकास्पद दाबी गरेर ग्राहक झुक्याउने काम गरेको छ । 

यस विषयमा साइमेक्स इंककी यमूना श्रेष्ठलाई सोध्दा उनले प्रतिक्रिया दिन चाहिनन् ।