काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७८-७९ का लागि लाभांश वितरण नगर्ने भएको छ । 

यो कम्पनीले लाभांशबिनाका अजेण्डासहित आफ्नो आठौं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीको मंसिर ४ गते बसेको २२७ औं बोर्ड बैठकले आगामी मंसिर ३० गते शनिवार बिहान ११ बजे बुटवलस्थित कम्पनीको प्रधानकार्यालयमा साधारणसभा आह्वान गरिएको हो । 

साधारणसभामा भौतिक रुपमा उपस्थित हुन नसक्ने सेयरधनीका लागि भर्चुअल माध्यमबाट समेत सहभागी हुनसक्ने सुविधा उपलब्ध गराइएको छ । 

साधारणसभामा साधारण प्रस्तावको रुपमा आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पास गर्ने, सो आ.व.को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सानको हिसाब र नगद प्रवाह विवरणसहितको वित्तीय विवरण तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने तथा आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षकमा एनबीएसएम एण्ड एशोसिएसट्स, नारायणचौर, नक्साल काठमाण्डौको नियुक्तिलाई अनुमोदन गर्ने रहेका छन् । 

विशेष प्रस्तावमा संस्थाको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन प्रस्ताव पारित गर्ने, अन्य कुनै लघुवित्त संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि मर्जर समिति गठन गर्ने, उपयुक्त लघुवित्त संस्थाको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने र सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्टबैंकमा निवेदन दिने लगायतका सबै काम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पेश हुनेछ । 

साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गतेदेखि बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ यो कम्पनीले घोषणा गरेको साधारणसभामा सहभागी हुन चाहनेले मंसिर १४ गतेअगाडि नै सेयरधनी कायम भइसक्नुपर्नेछ ।