काठमाण्डौ । ग्लोबल आइमएमई बैंकले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत सेयर लाभांश दिने घोषणा गरेको छ । 

बैंकको भदौ २९ गते(मंगलबार) बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई बोनस सेयर दिने निर्णय गरिएको हो । 

बैंकले संचालक समितिको निर्णयको बिषयमा नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ । 

संचालक समितिको यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत  भएपछि लगनीकर्ताले घोषित लाभांश पाउनेछन् । 

कमर्ज एन्ड ट्रस्ट बैंकसहित अन्य केही संस्थालाई मर्ज गरिसकेको ग्लोबल आइएमईको चुक्ता पुँजी ६ अर्ब १६ करोड ४२ लाख  ६८ हजार रूपैयाँ पुगेको छ ।  १६ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजीमा ९८ करोड ६२ लाख बढी थप भई कुल करिब ७ अर्ब १५ करोड पुग्नेछ । 

बैंकले आर्थिक वर्ष २०७२/७३ मा एक अर्ब ३८ करोड ६६ लाख ८६ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।