काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ९५ करोड २९ लाख खूद नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ९० करोड ६२ लाखमा सीमित थियो । 

बैंकको खूद ब्याज आम्दानीतर्फ पनि सामान्य मात्र बढोत्तरी भएको छ । यसको अर्थ अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकले व्यवसाय बिस्तारमा खासै प्रगति गर्न सकेन भन्ने हो । अघिल्लो वर्ष १ अर्ब ६७ करोड रहेको खूद ब्याज आम्दानी यो वर्ष १ अर्ब ७२ करोडको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा बैंकले १ खर्ब २१ करोड बराबर निक्षेप संकलन गरी ८८ अर्ब ४ करोड बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ८४ अर्ब १२ करोड निक्षेप संकलन गरी ७१ अर्ब ५१ करोड बढीको कर्जा प्रवाह गरेको थियो । 

बैंकले नाफा कमाए पनि खर्च नियन्त्रण गर्न नसक्दा संचालन नाफा चाहि घटेको छ । यो बित्तीय स्वास्थ्यका लागि खराब कुरा हो । अघिल्लो वर्ष १ अर्ब १७ करोड ६७ लाख रहेको संचालन नाफा घटेर १ अर्ब १७ करोड १५ लाखमा सीमित भएको छ ।

बैंकले खराब कर्जालाई समेत घटाउन सकेन । यहीकारण अघिल्लो वर्ष यही अवधिमा कायम १.६१ प्रतिशतमै यो वर्ष पनि खराब कर्जा रहेको देखिएको छ । 

बैंकले रिजर्ब  कोषतर्फ भने ३७ प्रतिशतको हाराहारीमा फड्को मारेको छ । अघिल्लो वर्ष यो अवधिमा २ अर्ब ४६ करोड रुपैयाँ रहेको कोषको आकार बढी यो वर्ष ३ अर्ब ३६ करोड पुगेको छ ।

अघिल्लो वर्ष यही अवधिमा ७ अर्ब १५ करोडमा सीमित चुक्तापुँजी बढेर ८ अर्ब ८८ करोड पुगेको छ । बढेको पूँजीको अनुपातमा नाफामा प्रगति गर्न नसक्दा यो बैंकले समेत प्रतिसेयर आम्दानीलाई नियन्त्रणमा राख्न सकेन । अघिल्लो वर्ष यही  अवधिमा वार्षिकीकृत प्रतिसेयर आम्दानी २५.३२ रुपैयाँ रहेकोमा घटेर यो वर्ष २१.४४ रुपैयाँ  कायम भएको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३७.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.६९ गुणा कायम भएको छ ।