काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आइएमई लघुवित्तले खूद नाफातर्फ छलाङ मारेको छ । 

कम्पनीले खूद नाफातर्फ १७८.५५ प्रतिशतको छलांग मारेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको खूद नाफा २७ लाख रहेकोमा त्यो बढेर यो वर्ष ७६ लाख माथि पुगेको हो । 

कम्पनीले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १ करोड १२ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष २ करोड १९ लाखको उचाईमा पुगेको हो । 

कम्पनीको संचालन मुनाफातर्फ पनि २०७ प्रतिशतको प्रगति देखिएको छ । अघिल्लो वर्ष ३६ लाख संचालन मुनाफा रहेकोमा त्यो बढेर यो वर्ष १ करोड १३ लाखको उचाई चुमेको हो । 

समीक्षा अवधिमा यो कम्पनीले ४५ करोड निक्षेप संकलन गरी तथा १ अर्ब ३० करोड सापटी लिएर १ अर्ब ६३ करोड बढी कर्जा परिचालन गरेको छ ।

अघिल्लो वर्ष २० करोड निक्षेप संकलन गरी तथा ४९ करोड बढी सापटी लिई ५७ करोडको हाराहारीमा कर्जा प्रवाह गरेको थियो । 

कम्पनीले रिजर्ब कोषतर्फ पनि कमालकै छलाङ हानेको छ । अघिल्लो वर्ष  १ करोड ७६ लाख रहेको कोषको आकार बढी ५ करोड ४० लाख पुगेको हो । 

कम्पनीले १.६३ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर ०.५१ मा झार्ने सफलता पाएको छ भने प्रतिसेयर आम्दानीतर्फ पनि कमालको प्रगति गरेको छ । अघिल्लो वर्षको तुलनामा वार्षिकीकृत प्रतिसेयर आम्दानी १७९ प्रतिशतले बढाएर ३१.७३ रुपैयाँको उचाई चुमाएको हो । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १५६.२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४.३९ गुणा कायम भएको छ ।