काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकले राम्रो प्रगति भएको वित्तीय विवरण पस्किएको छ । 

यो बैंकले रेगुलेटरी एडजस्टमेन्टपछिको फ्री प्रोफिटतर्फ ५२.४२ प्रतिशत, खूद नाफातर्फ ३६.३६ प्रतिशत र संचालन नाफातर्फ ४०.३४ प्रतिशतको प्रगति गरेको हो । 

अघिल्लो वर्ष यही अवधिमा ३३ करोड ९६ लाखमा सीमित फ्री प्रफिट बढेर यो वर्ष ५३ करोड ४७ लाख पुगेको छ भने ३९ करोड २९ लाखमा सीमित खूद नाफा बढेर ५३ करोड ५८ लाखको उचाईमा पुगेको छ । अघिल्लो वर्ष ५३ करोड ६६ लाखमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ७५ करोड ३१ लाखको उचाईमा पुगेको हो । 

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण बैंकको खूद ब्याज आम्दानीतर्फ निकै राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष यही अवधिमा ७७ करोड ३५ लाखमा सीमित यस्तो आम्दानी बढेर यो वर्ष १ अर्ब २० करोड पुगेको छ । 

समीक्षा अवधिमा ग्लोबल आइएमई बैंकले १ खर्ब ११ अर्ब निक्षेप संकलन गरी ९९ अर्ब ५० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेतर्फ बैंकको प्रगति ६.२२ प्रतिशत मात्र भएको छ भने कर्जा प्रवाहत १४.५५ प्रतिशतले बढेको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म बैंकको रिजर्ब कोषमा ४ अर्ब ६४ करोड रुपैयाँ रकम रहेकोमा त्यो बढेर यो वर्ष ५ अर्ब ७३ करोडको उचाई चुमेको छ । 

चुक्तापूँजीमा १० प्रतिशतले वृद्धि गरेको बैंकको नाफामा राम्रो बढोत्तरी भएका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानी करिब ४५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा १६ रुपैयाँ ६२ पैसामा सीमित यस्तो आम्दानी बढेर यो वर्ष २४ रुपैयाँ ६ पैसा पुगेको हो । 

यो अवधिमा बैंकले १.५७ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटाएर १.०५ प्रतिशतमा झारेको छ भने प्रतिसेयर नेटवर्थ १६४.५३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.१९ गुणा कायम भएको छ ।