काठमाण्डौ । साताको पाँचौं कारोबार दिन बिहीबार ८ ओटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन बोटलर्स नेपाल(बालाजु),बीपीडब्लू लघुवित्त वित्तीय संस्था, मिड सोलु हाइड्रोपावर,चिरख्वा हाइड्रोपावर,भिजन लुम्बिनी ऊर्जा कम्पनी,नेपाल वेयर हाउजिङ्ग कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दाको समय १ बजेसम्ममा बजार २७.८८अंकले घटेर २ हजार ११३.९९ विन्दुमा पुगेको छ । उक्त अवधिसम्ममा ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

नेप्से विश्लेषणलाई आधार मान्ने हो भने यसअघि लगातार बढेको बजारमा आगामी दिनमा कुनै पनि समयमा करेक्सन आउँछ भने त्यो बजारको लागि राम्रो नै हुन सक्छ । किनकि बजार जहिल्यै पनि एक कदम पछाडि र दुई कदम अगाडि  बढ्ने गर्दछ ।

बजार विश्लेषकहरु बजार उच्च विन्दु २ हजार ७० भन्दा माथि माथि टिकेर कारोबार भएमा भने अबका दिनमा बजारले बुलिस यात्रा तय गर्न सक्ने बताउँछन् ।

बजार जहिल्यै पनि एकोहोरो बढेको बढ्यै पनि गर्दैन र घटेको घट्यै पनि गर्दैन ।सानो-सानो करेक्सन आउँदै बजार बढ्यो भने त्यस्तो बजार बलियो हुँदै जान्छ ।  बजारले पुनः माथिको यात्रा तय गर्दछ ।