-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । अहिले केहि वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर एकल अंकमा आएको छ ।

बजारमा तरलता पनि सहज अवस्थामा नै छ । बिहीबार मात्रै कुमारी बैंकले ब्याजदर घटाएर ब्याजदर  सार्वजनिक गरेको छ । यसअघि एनआईसी एशिया बैंकले पनि ब्याजदर घटाएर सूचना सार्वाजनिक गरेको थियो ।

केहि दिन यतादेखि सेयर बजार  भने कारोबारको पहिलो प्रहरमा बढ्ने गरेको र अन्त्यमा विस्तारै उत्साह हराउँदै गए जस्तो देखिएर बढेको बजार टिक्न नसकेको अवस्था छ। 
 

गत बुधबार र बिहीबार २ हजार १०० विन्दुमाथि गएको  बजार अन्त्यमा सामान्य अंकले घटेर बन्द भएको छ । यो दिन बजार घट्दा कारोबार पनि घटेको छ।

सर्बत्र माहोल सकारात्मक हुँदा पनि किन बजार लगानीकर्ताहरुले सोचेअनुरुप बढ्न सकेन  त ? प्रत्यक्ष रुपमा धेरै लगानीकर्ताहरुको जमघट हुने राजधानीका केहि अग्रणी ब्रोकर सञ्चालकहरुलाई हामीले आज केहि जिज्ञासा राखेका थियौं ।
 

ती मध्येको कोहिनूर इन्भेष्टमेन्ट सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३५ सञ्चालक भरत रानाभाटको विचारमा हाल अपर तामाकोशीको लिलामी सेयरले पनि बजार सोचे जसरी बढ्न नसकेको हो ।

किनकि अहिले उक्त कम्पनीको ठूलो भोलुममा १ करोड ७० लाख कित्ता सेयर लिलाम छ । यो महिना पुस मसान्तको कारणले गर्दा पनि बजार बढ्न सकेन । उनले भने, ‘यो महिना सरकारलाई कर तिर्ने समय पनि भएकाले बजार बढ्न नसकेको हो ।’
 

यी र यस्तै नै तीन वटा कारणले बजार बढ्न नसकेको उनको विचार छ ।
अर्को एक जना ब्रोकरले चाहिं नाम उल्लेख नगर्ने शर्तमा हालबजार बढ्न नसक्नुमा २ –३ वटा कारण रहेको बताए ।

उनका अनुसार पहिलो भनेको निक्षेपको ब्याजदर घट्यो तर  कर्जाको ब्याजदर घटे्न । अझै २/३ महिना कर्जाको ब्याजदर घट्न समय लाग्छ ।

त्यसैले अहिले नै लगानीकर्ताले सस्तो दरमा सेयर कर्जा पाएको अवस्था  भने छैन। त्यसैले अहिले नै निक्षेपको ब्याजदर घटि हाले पनि बजार ठूलो अंकले बढन नसकेको हो ।

दोस्रो भनेको ब्रोकरहरुको ठूलो  मात्रामा उधारोमा कारोबार हुनु पनि हो । ब्रोकरहरुले आफूले उठाउनु पर्ने पैसाका लागि बजार बढ्ने वित्तिकै ग्राहकलाई  बिक्री गर्न दबाब दिन्छन् । कोल्याट्रलमा पनि नियन्त्रण गर्छन् । यहि कारणले बजार बढेता पनि अहिले नै २ हजार २०० विन्दुभन्दा माथि टिक्न नसकेको हो ।

अर्को कारण भनेको बजारमा नयाँ पैसा आउन पनि सकेको छैन। नयाँ पैसा भनेको नयाँ ग्राहकबाट बढी आउने हो ।

उनले केहि लगानीकर्ताहरुले अझै पनि नेपाल राष्ट्र बैंकको अर्को म्रौद्रिक नीतिको समीक्षा कुरेका कारण पनि बजारले सोचे जसरि लय समात्न नसेको बताउँछन् । 
अर्को एक जना ब्रोकरले पनि  नाम उल्लेख नगर्ने शर्तमा सेयर बजार जहिले पनि अनुमान गरेभन्दा फरक अवस्थामा मात्रै चल्ने गरेको प्रसंग उल्लेख गर्दै अहिले पूँजीबजारमा धेरै मानिसले गरेको अनुमान मिल्न गएको बताए ।

उदाहरणका लागि धरैले यसअघि नै बैंक तथा वित्तीय संस्थाको ब्याजदरको घट्छ भन्ने पहिले नै थाहा पाएका थिए ।सोचेअनुरुप ब्याजदर पनि घट्यो । जसको कारण बजार पहिले नै बढ्यो  ।

उनले भने, ‘तर ब्यादजर घटेर आउँदा पनि बढ्न सकेन ।’