काठमाण्डौ । चालु आर्थिक वर्षका लागि जारी मौद्रिक नीतिका कारण बैंकहरुको ब्याजदर क्रमशः घटिरहेको देखिएको छ । 

नेपाल राष्ट्रबैंकका अनुसार ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर, वाणिज्य बैंकहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर, वाणिज्य बैंकहरुको औसत आधार दर घटेको हो । 

वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ साउनको १०.१२ प्रतिशतको तुलनामा २०७६ साउनमा ९.४५ प्रतिशत कायम भएको छ । २०७६ साउनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.४० प्रतिशत र १२.४७ प्रतिशत रहेका थिए ।

२०७५ साउनमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ३.३४ प्रतिशत रहेकोमा २०७६ साउनमा ०.२१ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ साउनको १.८८ प्रतिशतको तुलनामा २०७६ साउनमा १.१९ प्रतिशत कायम भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा वाणिज्य बैंकहरुले रु.१४६ अर्ब २८ करोड र बैंक तथा वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) ले रु.१३ अर्ब ८४ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुले क्रमशः रु.६८ अर्ब र रु.५ अर्ब ७७ करोड कारोबार गरेका थिए ।

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७६ साउन मसान्तसम्म कुल १७१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भईसकेका छन्। यसमध्ये १२८ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४३ संस्था कायम भएका छन्।

कुल ७५३ स्थानीय तहमध्ये २०७६ साउनसम्म ७३७ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् ।