काठमाण्डौ । देशको बित्तीय अवस्था कसिलो बन्दै गएको छ । 

बढ्दो चालू खाता घाटासँगै समग्र शोधनान्तर स्थिति ऋणात्मक रहेका कारण विदेशी मुद्रा सञ्चितीमा केही कमी आएकोले वित्तीय अवस्था कसिलो भएको हो ।

नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको ७ महिनासम्मको बित्तीय तथा आर्थिक परिदृश्यको समीक्षा गर्दै तत्कालको अवस्था कसिलो देखिए पनि आगामी दिनमा सरकारी खर्चमा आउने वृद्धिले विद्यमान वित्तीय अवस्थामा सुधार हुँदै जाने अपेक्षा व्यक्त गरेको छ । 

केन्द्रीय बैंकका अनुसार २०७४ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्राफीति दर अघिल्लो वर्षको ३.३ प्रतिशतबाट वृद्धि भई ५.० प्रतिशत पुगेको छ । हालैका महिनाहरुमा उपभोक्ता मुद्रास्फीति दरमा बढ्ने प्रवृत्ति देखिए तापनि यस वर्षको औसत मुद्रास्फीति वार्षिक प्रक्षेपणभन्दा न्यून नै रहने उसको अनुमान छ । 

गैर कृषितर्फ, उर्जा, निर्माण तथा पुनरनिर्माण एवम् पर्यटन क्षेत्रको गतिविधि अघिल्लो वर्षको तुलनामा राम्रो हुने अनुमान केन्द्रीय बैंकको छ । 

केही जलविद्युत आयोजनाहरुको निर्माण सम्पन्न भएकाले औद्योगिक क्षेत्रको क्षमता उपयोगमा वृद्धि भई समग्र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने, नेपालमा आउने पर्यटकको संख्या तथा होटलमा भएको लगानी वृद्धिले समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने, सिमेन्ट तथा जलविद्युत उत्पादनका आयोजनाहरुमा प्रत्यक्ष वैदेशिक लगानी बढेका कारण अर्थतन्त्र थप चलायमान हुने विश्लेषण गरिएको छ ।  

सात महिनासम्ममा उपलब्ध आर्थिक परिसूचकहरुले नेपाली अर्थतन्त्रको समष्टिगत आर्थिक स्थिति मिश्रित रहने देखाएका छन् । तराई क्षेत्रमा भएको लगातारको वर्षा तथा डुवानका कारण वर्षे धानको उत्पादनमा असर गरेको र हिउँदे वर्षा पर्याप्त हुन नसक्दा कृषि क्षेत्रको उत्पादन वृद्धि अघिल्लो वर्षको तुलनामा कम रहने अनुमान छ । 

तीनै तहको निर्वाचन सम्पन्न भई सरकार समेत गठन भइसकेकाले निजी क्षेत्रको लगानीको लागि सहज वातावरण सिर्जना भई यो वर्षको आर्थिक वृद्धि सन्तोषप्रद रहने राष्ट्रबैंकले दाबी गरेको छ । 

अंकमा हेरौं
अघिल्लो वर्षको सात महिनामा रु. १० अर्ब ६६ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा रु. १४१ अर्ब ६ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालू खाता उल्लेख्य घाटामा रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ । 

त्यसैगरी, अघिल्लो वर्षको सात महिनामा रु. ३६ अर्ब ९५ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. १८ अर्ब २८ करोडले घाटामा रहेको छ । 

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु. १० अर्ब ६४ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. १४ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. ९ अर्ब २५ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. ७ अर्ब ६० करोड रहेको थियो ।

विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तको रु. १०७९ अर्ब ४३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ माघ मसान्तमा २.८ प्रतिशतले कमी आई रु. १०४९ अर्ब २० करोड पुगेको केन्द्रीय बैंकको समीक्षा रिपोर्टमा उल्लेख छ ।  

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु. ९२७ अर्ब २७ करोडको तुलनामा २०७४ माघ मसान्तमा १ प्रतिशतले वृद्धि भई रु. ९३६ अर्ब २१ करोड पुगेको छ । 

बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा रु. १५२ अर्ब १७ करोड रहेकोमा २०७४ माघ मसान्तमा २५.७ प्रतिशतले कमी आई रु. ११२ अर्ब ९९ करोड पुगेको छ । २०७४ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचकहरू आर्थिक वर्ष २०७४/७५ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.३ महिनाको वस्तु आयात र ९.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४०.४ प्रतिशत, ८१.९ प्रतिशत र ३७.६ प्रतिशत रहेका छन्। 

२०७४ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४१.५ प्रतिशत, ९५.२ प्रतिशत र ४१.६ प्रतिशत रहेका थिए ।