काठमाण्डौ ।  ब्याजदर बढेको बेला महङ्गो दरमा संकलन भएको स्रोत लगानी गर्नुको साटो तरलता व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्था अत्यन्त सस्तो दरमा राष्ट्रबैंकमा राख्ने बाध्यता जारी छ । 

राष्ट्रबैंकले प्रणालीमा देखिएको अधिक तरलताको समस्याको व्यवस्थापनका लागि १४ दिने अल्पकालीन उपकरणमार्फत आज फेरि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्दैछ । 

मंसिर २४ गते पनि केन्द्रीय बैंकले २५ अर्ब नै बजारबाट प्रशोचन गरेको थियो । 

सो बेला केन्द्रीय बैंकले ०.४९ प्रतिशत ब्याजदरमा अल्पकाल(१४ दिन)का लागि निक्षेप संकलन उपकरणमार्फत २५ अर्ब रुपैयाँ तरलता खिचेको थियो । त्यसमा बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट ६४ वटा प्रस्ताव पेश भएको थियो । कुल ४६.७० अर्ब निक्षेप राख्नका लागि प्रस्तावहरु पेश भएका थिए । 

राष्ट्रबैंकका अधिकारीहरुका अनुसार न्यूनतम ०.४९ प्रतिशतदेखि अधिकतम १ प्रतिशत ब्याजदरको प्रस्ताव गरी आवेदनहरु परेका थिए । केन्द्रीय बैंकले सो उपकरणका लागि ०.८३४९ प्रतिशत औसत ब्याजदर कायम गरेको थियो । 

त्यसअघिको बुधबार मात्रै केन्द्रीय बैंकले १० अर्बको निक्षेप प्रशोचन गरेको थियो । सो दिन पनि १० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दा करिब ३७ अर्ब हाराहारीको प्रस्ताव परेको थियो ।  सो दिनको औसत ब्याजदर भने ०.७०४८ कायम भएको थियो । 

जनताबाट संकलन भएको निक्षेप बैंकमा आइडल भएर बस्नुभन्दा थोरै भए पनि रिटर्न आउने आशामा बैंकहरु ०.४९ प्रतिशत ब्याजदरमै पैसा राख्न शुक्रबार बोलकबोलमा सामेल भइरहेका छन् । 

पछिल्लो समय बैंकदरहरु घटेकोले आज बोलकबोलका लागि खुलाइएको २० अर्बको अल्पकालीन उपकरणको ब्याजदर अझै सस्तो पर्नसक्ने आँकलन गरिएको छ । 

अधिक तरलताका कारण बैंकहरु समस्यामा परेपछि मंसिर लागेपछि मात्रै राष्ट्रबैंकले प्रणालीबाट करिब ८० अर्ब तरलता बजारबाट प्रशोचन गरिसकेको छ। चालु आर्थिक वर्ष लागेपछि मंसिर १५ गतेसम्म निक्षेप २ खर्ब ९ अर्बले विस्तार हुँदा कर्जा भने १ खर्ब २५ अर्ब मात्रै विस्तार भएको देखिन्छ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह न्यून भएका कारण समेत प्रणालीमा अधिक तरलता देखिएको हो । 

अधिक तरलता हुँदा समेत बैंकहरुले महङ्गो ब्याजदरका कारण कर्जा बिस्तार गर्न सकेका छैनन् । कर्जाको ब्याजदर केही सस्तो बनाएर लगानी गर्नुको साटो राष्ट्रबैंकले बेला बेला जारी गर्ने अल्पकालीन उपकरणमा कौडीको दरमा निक्षेप राख्न बैंकहरु उद्यत देखिनु समग्र अर्थतन्त्रकै लागि समेत राम्रो संकेत होइन । अझ अर्थतन्त्र चलायमान हुने गरी उत्पादनशील क्षेत्रमा प्रवाह हुनुपर्ने स्रोत न्यून दरमा केन्द्रीय बैंकमा थुप्रिनु अझ खराब संकेत हो । 

राष्ट्रबैंकको २८ मंसिरसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तर बैंक ब्याजदर केही बढेर २.४७ प्रतिशत पुगेको छ । 

आशा पलाउँदै
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाइरहेका छन् । 

निक्षेपको ब्याजदरमा निकै ठूलो कटौति भइरहेको छ । यसले निकट भविष्यमा बैंकहरुको आधार दर घट्ने र सस्तो दरमै ऋण प्रवाह गर्नसक्ने अवस्था बन्नसक्छ । यस्तो भएमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्नेछ र यसो भयो भने अधिक तरलताको समस्याको हल हुनेछ । त्यस्तो अवस्थामा महंगोमा संकलन गरेको निक्षेप कौडीको भाउमा राष्ट्रबैंकले जारी गर्ने अल्पकालीन उपकरणहरुमा बैंकहरुले राख्नुपर्ने बाध्यता हट्नसक्छ ।