– रेखा चन्द

काठमाण्डौ । बैंकिङ क्षेत्रका लागि चालु आर्थिक वर्ष गत वर्षहरुको तुुलनामा फरक छ। किनकि बैंकहरुले चालुु आर्थिक वर्षको सुरुआतदेखि नै तरलताको संकट भोग्न बाध्य छन्। यो संकट बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षमा पनि भोगेका थिए। जुुन बैंकिङ क्षेत्रका लागि तरलताको संकट खेपेको सबैभन्दा लामो समय पनि हो। 

बैंकहरुसँग गत आर्थिक वर्षभन्दा अघि कहिल्यै पनि अहिलेको जसरी लामो समयसम्म तरलताको समस्या भोगेको अनुुभव छैन। छोटो समयका लागि लगानीयोग्य पुँजीको संकट देखिए पनि त्यसको समस्या छिटै समाधान हुने गरेको बैंकर बताउँछन्। 

चालु आर्थिक वर्षको दोस्रो महिना भदौ लाग्दा पनि बैंक तथा वित्तीय संस्थाहरुमा तरलता संकटको अवस्था ज्यूँका त्यूँ नै छ। यद्यपि बैंकिङ प्रणालीबाट साउनमा मात्रै खर्ब रकम बाहिरिएपछि झनै संकट देखिएको थियो। जसका कारण अहिले बैंकहरुले कर्जा प्रवाहलाइ ठप्प पारेका छन्। यो संकट कहिलेसम्म रहन्छ कुनै यकिन छैन।

यसैबीच नेपालीहरुको महान चाड दसैँ, तिहार, छठ नजिकिरहेका छन्। चाडपर्व सुरु भएसँगै आमसर्वसाधारणले अन्य बेलामा भन्दा धेरै खर्च गर्ने गर्दछन्। जसका लागि उनीहरुले बैंकबाट जम्मा गरेर राखेको आफ्नो पैसा धमाधम निकाल्ने गर्दछन्। 

यस्तै उद्योगी–व्यवसायीहरुले साउनको अन्तिम सातादेखि नै चाडपर्व लक्षित साम्रगीको आयातका गर्ने गर्दछन्। जसका कारण ठूलो धनराशि बाहिरिने गर्छ। 

यसो त चाडपर्वका बेलामा अन्य समयको तुलनामा बढी वस्तुु खपत हुुनु स्वभाविक हो। तर, यसले बैंकको तरलतामा कस्तो प्रभाव पार्छ ? जानकारका अनुसार चाडपर्वका बेलामा खर्च बढे पनि देशमा भित्रिने रेमिट्यान्सलगायत पनि बढ्ने हुँदा तरलतामा त्यति चाप नपर्ने बताउँछन्। पछिल्लो समय डिजिल प्रविधिको विकासपछि मानिसहरुले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेटलगायत विभिन्न सिस्टमबाट पठाइएको रकम सिस्टममै आउने हुनाले खासै असर नपर्ने उनीहरुको भनाइ छ। 

सानिमा बैंक लिमिटेडका सीईओ निश्चलराज पाण्डे चाडपर्व विदेशबाट आउने रेमिट्यान्स बढ्ने र कर्मचारीको पनि बोनस आउने हुँदा तरलतामा चाप नपर्ने बताउँछन्। ‘चाडपर्वमा अलि–अलि खर्च भइहाल्ला तर विदेशबाट आउने रेमिट्यान्स बढ्ने, यहाँका कर्मचारीको पनि दसैँमा बोनस आउँछ’, उनले भने ‘त्यसैले पनि चाडपर्वमा बैंकको तरलतामा खासै चाप नपर्ला।’ 

यद्यपि यसअघि विभिन्न कारणले तरलतामा परेको चापलाई सम्बोधन गर्नुपर्ने सीईओ पाण्डेको भनाइ छ।

नेपाल डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष एवं मुुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युम्न पोखरेल कर्जा तथा आयातमा बढी रकम नगएको खण्डमा चाडपर्वका बेलामा पनि बैंकहरुको तरलतामा चाप नपर्ने बताउँछन्। ‘तरलताको कुरा गर्ने हो भने राष्ट्रियस्तरका विकास बैंकहरु अहिले सहज नै देखिन्छन्’, उनले भने, ‘तर, आउँदो समयमा संयमित भएर कर्जा विस्तार र आयातमा पैसा गएन भने त्यसले समस्या नहुन सक्छ।’

वित्त जानकार हेमन्त बस्याल पहिले चाडपर्वको बेलामा बैंकबाट पैसा निकालेर घरमा राख्ने चलन रहेकोमा अहिले त्यो चलन कम हुँदै गएको बताउँछन्। ‘पहिला दसैँमा दक्षिणा दिन र चाडपर्वका लागि आवश्यक सामग्री किन्न बैंकबाट पैसा निकाल्ने प्रचलन थियो, त्यो हुँदा केही पैसा सिस्टमभन्दा बाहिर जान्थ्यो’, उनले भने, ‘अहिले डिजिटल बैंकिङबाट खर्च गरौँ भन्ने सोच विकास हुँदै गरेकोले यसपालिको चाडपर्वमा तरलतामा पहिलाको जस्तो असर नदेखिएला।’ 

पछिल्लो समय सामान्य किराना पसलमासमेत क्यूआरको प्रयोग गरी रकम भुुक्तानी गर्न सकिने व्यवस्थाको विकास भएकाले केही रकम बैंकिङ प्रणालीबाट बाहिर गए पनि विगतमा जसरी नजाने बस्यालको भनाइ छ। उनले बैंकहरुले भदौको १२ गतेपछि सीआरआर ४ प्रतिशतले राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने हुँदा त्यसले तरलतामा असर पार्नसक्ने उल्लेख गरे। 

राष्ट्र बैंकले प्रतिबन्ध नलगाएका वस्तुुको आयात दसैँमा गरिने हुँदा पनि तरलतमा चाप पर्ने बस्यालले बताए। यद्यपि अन्य समयको तुलनामा दसैँमा रेमिट्यान्स बढी आउने र नेपाल सरकारले भुुक्तानी गर्ने दसैँ पेस्कीसमेत सरकारको खाताबाट व्यक्तिको खातामा जाने हँुदा चाडपर्वको बेलामा तरलता थपिने बस्याल बताउँछन्।

यस्तै साउनमा मात्रै बैंकिङ प्रणालीबाट १ खर्ब १९ अर्ब बाहिरिएको थियो। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार सो अवधिमा वाणिज्य बैंकहरुको मात्र निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँले घटेको छ।