काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै बढेको थियो। इन्ट्राडेमा सामान्य तल–माथि गरे पनि बजार अन्तिम समयमा ४० अंकले बढेर बन्द भएको छ। 

कारोबारको हिसाबले आज बजारमा ४ महिनापछि अर्थात् फेब्रुअरी ८ पछि आज उच्च कारोबार भएको छ। गएको फेब्रुअरीमा बजारमा ३ अर्ब ६९ करोड कारोबार भएको थियो। त्यसपछि आज ३ अर्ब ४५ करोड कारोबार भएको छ। यो भनेको ४ महिनापछिको उच्च कारोबार हो। 

प्राविधिक रुपमा बजारलाई विभिन्न इन्डिकेटरमार्फत हेर्दा बुलिस बन्दै गएको देखिन्छ। डेली बेसमा आज सुपर ट्रेन्डमा बुलिस बनेको देखिन्छ। बजारले यसभन्दा अगाडि १९८० मा पटक–पटक प्रतिरोधको सामना गरेको देखिन्छ। आज यही विन्दुमा बजार उच्च भोलुमसहित बन्द भएको देखिन्छ। यस हिसाबले यो बिन्दु आगामी कारोबारमा सहज रुपमा ब्रेक हुन सक्ने देखिन्छ। 

सुपर ट्रेन्डमार्फत बजारलाई हेर्दा आज खरिद सिग्नल दिएको छ। मूल्यरेखाहरु ट्रेन्ड लाइनभन्दा माथि गएका छन् भने सुपर ट्रेन्डको रङ पनि रातोबाट हरियो बनेको छ। 

बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा आज मूल्यरेखाले अप्पर ब्यान्डलाई छोएको छ। अब आगामी कारोबारमा मूल्यरेखा अप्पर ब्यान्डसँगै हिँड्नुपर्नेछ।

म्याक्डीमार्फत हेर्दा बजार यसभन्दा पहिले बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम गाढा सकारात्मक बनेका छन्। 

आरएसआई ६० भन्दा माथि ६३ मा चलेको छ। बजार बढ्दा यसभन्दा पहिले यस्तो विन्दु ८३ सम्म पुगेको थियो। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा बजार माथिको यात्रा तय गरेको देखिन्छ। 

पिभट प्वइन्टमार्फत हेर्दा आज बजारले पहिलो प्रतिरोध १९७१ लाई ब्रेक गरेर माथि गएको छ। अब दोस्रो प्रतिरोध भनेको बजारले २००३ मा र तेस्रो प्रतिरोध २०५६ मा सामना गर्न सक्छ। घटेमा भने बजारले क्रमशः १९५०, १९१८ र १९०० मा सपोर्ट लिन सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण करोबारका लागि सिफरिस भने होइन।