काठमाण्डौ । खराब कर्जा बढेसँगै सम्भावित कर्जा नोक्सानीका लागि बढेको प्रभिजन, नयाँ स्प्रेड नीतिका कारण ब्याज आम्दानीसँगै बढेको खर्च तथा नयाँ व्यवसायमा आएको संकुचन लगायतका कारण चालु आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंकहरुको नाफामा संकुचन आएको छ । 

गत आर्थिक वर्षको चार महिना(कात्तिक मसान्तसम्म)को तुलनामा चालु आ.ब.को सोही अवधिमा वाणिज्य बैंकहरुको नाफा ५ अर्ब हाराहारीमा घटेको हो । 

समीक्षा अवधिमा २० वाणिज्य बैंकको नाफा २२ अर्ब ६२ करोड ३० लाख भएको छ । जब कि अघिल्लो वर्षको यही अवधिमा २७ अर्ब ५९ करोड नाफा आर्जन गरेका थिए । 

चार महिनाको अवधिमा २० मध्ये १९ वटा बैंकले नाफा कमाएका छन् भने कृषि विकास बैंक भने घाटामा गएको छ । कृषि विकास बैंक गत वर्षदेखि नै घाटामा जान थालेको थियो । यो बैंकले चार महिनामा समेत आफ्नो वित्तीय अवस्था सुधार गर्न सकेको देखिएको छैन । चार महिनामा यो बैंक करिब २८ करोडले घाटामा गएको छ । 

यो चार महिनाको अवधिमा सबैभन्दा बढी नवील बैंकले २ अर्ब १७ करोड हाराहारीमा नाफा कमाएको छ । 

ग्लोबल आइएमई बैंकले १ अर्ब ९४ करोड ६९ लाख नाफा आर्जन गरेको छ । 

धेरै नाफा कमाउने बैंकहरुको सूचीमा तेश्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । चार महिनामा यो बैंकले १ अर्ब ८६ करोड ६८ लाख नाफा आर्जन गरेको छ । 

प्राइम कमर्सियल बैंकले १ अर्ब ५३ करोड ४४ लाख, हिमालयन बैंकले १ अर्ब ५० करोड ६६ लाख र एनआईसी एशिया बैंकले १ अर्ब ३७ करोड ८६ लाख तथा एनएमबि बैंकले १ अर्ब २३ करोड ८५ लाख नाफा आर्जन गरेका छन् । 

राष्टिय वाणिज्य बैंकले १ अर्ब २० करोड ६७ लाख, एभरेष्ट बैंकले १ अर्ब ८ करोड २ लाख, प्रभू बैंकले १ अर्ब ५ करोड ७९ लाख, स्ट्याण्डर्ड चार्टर्डले ९८ करोड १९ लाख, कुमारी बैंकले ८८ करोड ८० लाख, सानिमा बैंकले ७७ करोड ७८ लाख, माछापुच्छ्रे बैंकले ६७ करोड १५ लाख, नेपाल बैंकले ६६ करोड ८१ लाख, नेपाल एसबीआई बैंकले ६० करोड ५६ लाख, सिटिजन्स बैंकले ५८ करोड २४ लाख, लक्ष्मी सनराइज बैंकले ५१ करोड ५९ लाख र सिद्धार्थ बैंकले ३३ करोड ३८ लाख नाफा आर्जन गरेका छन् ।