काठमाण्डौ । चीनको वित्तीय नियामकले त्यहाँका बैंक तथा बीमा कम्पनीहरुलाई व्यवसायको साइबर र डेटा सुरक्षालाई राम्ररी समीक्षा गर्न निर्देशन दिएको छ ।

चीनको‘नेशनल फाईनान्सियल रेगुलेटरी एड्मिनिष्ट्रेसन’ले सरकारले देशको राष्ट्रिय सुरक्षा र डेटा अखण्डतामाथि ध्यान केन्द्रित गरेकाले बैंक तथा बीमा कम्पनीलाई साइबर र डेटा सुरक्षा समीक्षा गर्न निर्देशन दिएको हो । 

नियामकले मध्य जनवरीमा देखिन सक्ने साइबर हमलाबाट बच्न सुरक्षा प्रणालीमा कुनै छिद्र देखिए तत्कालै समाधान गर्न निर्देशन दिएको छ । साइबर सुरक्षाका जानकारहरुले मध्य जनवरीसम्ममा चीनका बैंक तथा बीमा कम्पनीमा साइबर हमला हुन सक्ने चेतावनी दिएका छन् । 

बैंकहरुलाई ईमेलहरुको सुरक्षित प्रयोगलाई सुदृढ बनाउन र फिसिङबाट जोगाउन भनिएको छ । त्यस्तै मानिसहरुलाई आफ्नो व्यक्तिगत वार्तालापका क्रममा पहिचान नखुलाउन भनिएको छ । 

गत नोभेम्बर महिनामा चीनको एक प्रमुख बैंक,इन्डष्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइनामा भएको साइबर हमलालाई मध्यनजर गर्दै बैंक तथा बीमा कम्पनीलाई यस्तो निर्देशन दिइएको हो ।   

सुचनाको प्रवाहमाथि नियन्त्रण राख्न चीनले सन् २०२१ मा डेटा सुरक्षा कानून ल्याएको थियो । यो कानुनले चीनमा बैंकसहित अन्य विदेशी कम्पनीको फैलावटलाई प्रभाव पारेको छ । -एजेन्सी