काठमाण्डौ । एकाधिकार नियम उल्लंघन गरेको आरोपमा चीनले ई–कमर्स कम्पनी अलीबाबामाथि झन्डै १ अर्ब डलर जरिवाना गर्ने भएको छ। यो चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो। 

अलीबाबामाथि चिनियाँ अधिकारीहरुले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका छन्। यो कम्पनी चिनियाँ बजारमा सामान खरिद र ढुवानीका लागि निकै लोकप्रिय छ।

अलीबाबाका संस्थापक ज्याक माले गत वर्ष अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेका थिए। त्यसपछि उनी र उनीका व्यवसाय सरकारी निकायहरुको तारो बनेका छन्।

गत नोभेम्बरमा चिनियाँ वित्तीय नियामक निकायहरुले अलीबाबाको अनलाइन भुक्तानीसम्बन्धी सहायक कम्पनी ‘एन्ट ग्रुप’ ले सार्वजनिक गर्न लागेको ३५ अर्ब डलरको हङकङ–सांघाईको आईपीओ रोकिदिएका थिए। त्यसपछि चिनियाँ अधिकारीहरुले अलीबाबाको व्यावसायिक गतिविधिमाथि अनुसन्धान सुरु गरे।

यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो। क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्याएको आरोप लागेको थियो। – एजेन्सी