काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा १९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १६२.९६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ७ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

चौथो त्रैमासमा संस्थाको सञ्चालन मुनाफा बढेर ३१ करोड ४८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ करोड ३५ लाख रुपैयाँमा सीमित थियो। 

यो अवधिमा संस्थाले ४७ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ६८.८९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आम्दानी २७ करोड ८४ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले २ अर्ब ६९ करोड रुपैयाँ सापटी लिई ५ अर्ब २ करोड कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले २ अर्ब ३० करोड रुपैयाँ सापटी लिई ३ अर्ब ६१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार पनि ३३.४४ प्रतिशतले बढेर ३६ करोड ५५ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २७ करोड ३९ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ५३ करोड ५८ लाख रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ३६.८३ रुपैयाँ रहेको छ। पीई रेसियो ३८.८० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ३१५.२२ रुपैयाँ रहेको छ।