काठमाण्डौ । छिमेक लघुवित्त विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३४ प्रतिशतले वृद्धि गरेको छ ।

अघिल्लो वर्ष ३३ करोड २ लाख रुपैयाँ नाफा कमाएको यो कम्पनीले यो वर्षको सोही अवधिमा ४४ करोड ३७ लाख नाफा कमाएको छ ।

अघिल्लो वर्ष ७५ करोड ४२ लाख रुपैयाँमा सीमित खूद ब्याज आम्दानी वृद्धि भई यो वर्ष ९३ करोड ७२ लाखको उचाईमा पुगेको छ । यो अवधिमा कम्पनीले ४ अर्ब बढी सापटी लिएको छ भने १२ अर्ब १८ करोड बढी कर्जा परिचालन गरेको छ । सापटी रकम र कर्जा प्रवाहको रकम अघिल्लो वर्ष क्रमशः ३ अर्ब ८१ करोड र ९ अर्ब २८ करोडमा सीमित थियो ।

छिमेक लघुवित्तको चुक्तापुँजी  ८३ करोड ४० लाख र जगेडा कोषमा ८२ करोड २० लाख रुपैयाँ रहेको छ ।

यो कम्पनीले निस्क्रिय कर्जालाई चमात्कारिक ढंगले घटाएर ०.२४ प्रतिशतबाट ०.०८ मा झार्न सफल भएको छ । यसको प्रति सेयर आम्दानी  ७०.९४ रुपैयाँ र प्रति सेयर नेटवर्थ १९८.५५ पैसा रहेको छ । प्रति सेयर आम्दानी ठूला वाणिज्य बैंकको भन्दा पनि निकै माथि हो । तर, अघिल्लो वर्षको तेश्रो त्रैमासको अवधिमा पनि इपीएस घटेको हो । अघिल्लो वर्ष यो अवधिमा कम्पनीको इपीएस ७३ रुपैयाँ माथि थियो ।

यो संस्थााको कस्ट अफ फण्ड  भने बढेको छ । अघिल्लो वर्ष तेश्रो त्रैमाससम्म ७.५० प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर यो वर्ष ८.२२ प्रतिशतमा पुगेको हो ।

यो लघुवित्तलाई बैंक अफ काठमाण्डू, हिमालयन बैंक लगायतले प्रवद्र्धन गरेका हुन् ।

छिमेकको पुँजीको आधार, प्रति सेयर आम्दानी, प्रतिसेयर नेटवर्थ हेर्दा यो कम्पनीको लगानी निकै सुरक्षित र फलदायी छ भन्न सकिन्छ । नाफातर्फ पनि यो कम्पनीले छलाङ मारेकोले यसले सेयरधनीलाई निकै राम्रो लाभांश बाँड्ने प्रष्ट छ । कतिपय लघुवित्त  कम्पनीहरुको पुँजीआधार कमजोर हुँदा हुँदै पनि उचालिएर सेयर मूल्य निकै माथि रहेको अवस्थामा सबै हिसाबले बलियो देखिएको छिमेकको सेयर मूल्य निकै सस्तो छ । प्रति कित्ता १६ सय रुपैयाँमा खरीदबिक्री भइरहेको यो कम्पनीको सेयरमा विचार पुर्याएर लगानी गर्ने हो भने लगानीकर्तालाई निकै राम्रो हुने विश्लेषकहरु बताउँछन् ।