काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना करिब ४ लाख २५ हजार ग्राहक सदस्यलाई गुणस्तरीय लघुवित्त कार्यक्रममार्फत सेवा दिँदै आइरहनुका साथै समयसापेक्ष प्रविधिको प्रयोगबाट कारोबारलाई डिजिटाइज गर्दै लगेको छ। 

मोबाइलको बढ्दो प्रयोगसँगै लघुवित्त क्षेत्रमा पनि यसको प्रयोगबाट कारोबारहरुलाई क्यासलेस गर्न सकिने विश्वास जागेको छ। छिमेकी लघुवित्तले पनि आफ्नो छुट्टै मोबाइल बैंकिङ एपमार्फत सदस्यहरुलाई डिजिटल कारोबार गर्ने व्यवस्था मिलाएको छ। यसका साथै यो एपअन्तर्गत कनेक्टआईपीएस र फोनपे सर्भिसमार्फत नेटवर्कभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुमा सजिलै फन्ड ट्रान्सफर गर्न सकिनुका साथै युटिलिटी पेमेन्टको प्रयोगबाट विना झन्झट विल भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ। 

लघुवित्तका सदस्यहरुलाई आफ्नो इकाइ (केन्द्र) बैठकका बारेमा जानकारी लिन सकिने र कारोबार सफल भएपश्चात कारोबारको जानकारी रकमसहित बोलेर सुनाउने यो एपको अर्को महत्वपूर्ण फिचर रहेको छ। संस्थाले आगामी ३ वर्षमा करिब ४० प्रतिशत आफ्ना ग्राहक सदस्यहरुलाई मोबाइल बैंकिङ सेवा पुर्याउने लक्ष्य लिइएको छ। 

२०७७ साल फागुनदेखि इसेवामार्फत सदस्यले आफ्नो बचत तथा किस्ता तिर्ने व्यवस्थाको पनि नेपाल राष्ट्र बैंकका गभर्नरबाट उद्घाटन सम्पन्न गरिएको थियो। उद्घाटनपश्चात इसेवामार्फत हालसम्म करिब १ अर्बको कारोबार गर्न सफल भएको हुँदा यस परिणामले थप नयाँ–नयाँ प्रविधिको अवलम्बन गर्न हौसला मिलेको संस्थाले जनाएको छ। 

यो मोबाइल बैंकिङमार्फत गाउँ–गाउँमा क्यासलेस बैंकिङ गराउने उद्देश्यले छिमेक मोबाइल बैैंकिङका साथै संस्थाको सदस्यको लप्सी क्यान्डी उद्योगका लागि क्यूआरमार्फत भुक्तानीसमेतको कार्यक्रमको उद्घाटन आज नयाँ बानेश्वरस्थित अर्पण ब्यान्क्वेटमा नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाको  प्रमुख आतिथ्यता सम्पन्न भएको छ। 

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले संस्थाको वर्तमान अवस्था तथा भावी योजनाका बारेमा मन्तव्य राखेका थिए। 

कार्यक्रमका प्रमुख अतिथि कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र काठमाण्डौ महानगरपालिका वडा नं. ३१ का वडा अध्यक्ष सरोज ढकालबाट पनि डिजिटल कारोबारको महत्वसहित सफलताका लागि शुभकामना मन्तव्य राखेका थिए। 

कार्यक्रम संस्थाका अध्यक्ष रामचन्द्र जोशीले प्रमुख अतिथिलगायत सम्पूर्ण अतिथि, पत्रकार एवं उपस्थित सम्पुर्ण महानुभावहरुलाई यस कार्यक्रममा आफ्नो अमूल्य समय दिई सफलत पूर्वक सम्पन्न गर्न सहयोग पुर्याएकोमा आभार एवं धन्यवाद व्यक्त गर्दै प्रमुख अतिथि एवं अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए।