काठमाण्डौ । 
‘ऐइया, मरेँ, मलाई बचाउनुहोस् । पोल्यो, दुख्यो, मरे, प्लिज मलाई बचाउनुहोस् ।’ 

रातको समयमा हिरासतका बन्दीले यस्तो बिलय गरेपछि ड्यूटीमा खटिएका प्रहरी पनि आत्तिए । माथिल्लो तहसम्म खबर भयो । हतार हतार अवस्था बुझ्ने कोशिश भयो । 

केही माथिल्लो स्तरका प्रहरी कर्मचारी पुग्दा समेत सुलभ अग्रवाल छाति समाउँदै कराइरहेका थिए–‘मरेँ, मरेँ मलाई बचाउनुहोस् । पोल्यो, छाति पोल्यो । प्लिज मलाई हस्पिटल लैजानुहोस् ।’ 

यसरी छाति समाउँदै चिच्याउने अग्रवाल जगदम्बा स्टिलका संचालक हुन्, जो कुटनीतिक नियोगको गाडी दुरुपयोग गरी ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा मंगलबार काठमाण्डौको नक्सालबाट पक्राउ परेका थिए । 

बजार मूल्य ३५०० रुपैयाँ पर्ने थर्मल गर्नलाई कालोबजारी गरी रु. १५००० सम्म बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरी आफैं ग्राहक बनेर गएको थियो र उनलाई रंगेहात पक्राउ गरिएको थियो । उनलाई टेकुस्थित अपराध महाशाखाको टोलीले पक्राउ गरी दरबामार्गस्थित प्रहरी वृत्तको हिरासतमा राखेको थियो । हिरासतमा बल प्रयोग गरेर हालिएपछि सुलभले नाटकीय ढंगले यस्ता हर्कतहरु गरेका थिए, जसका कारण रातभर प्रहरीलाई तनाव भइरह्यो । 

प्रहरीका अनुसार सुरुमा सुलभ हिरासतमा छिर्नै मानेनन् । पक्राउ पर्दा समेत उनले आफू शक्तिशाली व्यक्ति भएको भन्दै प्रहरीको गाडीमा बस्न मानेका थिएनन् । उनलाई पक्राउ गरी गाडीमा हाल्ने क्रममा ठेलमठेल हुँदा प्रहरीको गाडीको सिसा नै फुटेको थियो । बल्लतल्ल प्रहरी कार्यालय ल्याइएका उनलाई हिरासतमा राख्दा समेत उस्तै नाटक भयो । हिरासतमा छिरे लगत्तै उनले कराउन थालिहाले–‘मरे, पोल्यो, मलाई बचाउनुहोस् । मलाई चाँडो अस्पताल जान दिनुहोस् ।’

उनले रोइकराई गर्न थालेपछि प्रहरी समेत सुरुमा त आत्तिए । तर, अवस्था त्यति गम्भीर जस्तो देखिएन । त्यसपछि प्रहरीका अधिकृतले उनको कुरा सुने, उनको माग थियो नर्भिक अस्पतालमा रहेका उनका निजी चिकित्सकमा तुरुन्तै पुर्याइदिनु भन्ने । उनको नाटक बुझेको प्रहरीले दिउँसोदेखि नै उनलाई छुटाउनका लागि विभिन्न दवाब झेलिरहेको थियो । यो प्रकरणमा पनि दवाब आयो, तर प्रहरी गलेन । प्रहरीले नर्भिक लैजान चाहेन र उनलाई वीर अस्पताल लैजाने निर्णय भयो । 

राति वीर अस्पताल पुर्याइएका उनको मुटुको जाँच गरियो । इसीजी, इकोबाट मुुटुको अवस्था हेरियो । फोक्सो, कलेजो लगायतका अंगको चाल पनि नाप्ने काम भयो । तर, सबै रिपोर्ट सामान्य आयो । ब्लड प्रेसर सामान्य मात्र बढेको देखियो । वीरका डाक्टरले भवितव्यका लागि केही औषधि लेखिदिए र ती औषधितसहित उनलाई प्रहरीले पुनः हिरासतमै राख्यो । 

हिरासतमा पनि रातभरि उनले अरुलाई सुत्नै नदिएका ड्यूटीमा रहेका प्रहरीलाई उद्धृत गर्दै स्रोतले बताएको छ ।

धनी र ठूला व्यक्ति पक्राउ पर्दा हिरासतको कष्टकर रात बिताउनबाट कसरी बच्न खोज्छन् र कतिसम्म नाटक मञ्चन हुन्छ भन्ने कुरा यो प्रकरणले देखाएको छ । 

वार्षिक करोडौंको कारोबार गर्ने जगदम्बा समूहका संचालक नै थर्मल गन कालोबजारी गर्दै गरेको अवस्थामा पक्राउ परेको यो घटनाले संकटको बेला ठूला व्यापारीहरुबाट हुने गरेको कालोबजारीको दृष्टान्त उजागर गरेको छ । 

अग्रवाललाई बुधबार(आज) अदालतबाट म्याद थप गरी पुनः हिरासतमै राखिने प्रहरीले जनाएको छ ।