काठमाण्डौ ।सिंगापुरले नयाँ भवन बनाउन जग्गा नपाएपछि एक मात्रै घोडा क्लब बन्द गर्ने योजना बनाएको छ ।

सिंगापुरबाट प्रकाशित स्टेट टाइम्सका अनुसार सार्वजनिक घर बनाउन सिंगापुरले आफ्नो एक मात्र रेस कोर्स बन्द गर्न लागेको हो ।सिंगापुरमा घोडा दौड प्रतियोगिता हुन थालेको १८० वर्ष पुरा हुन लागेको छ । तर अब यस्ता प्रतियोगिता निकट भविष्यमा देख्न पाइने छैन। 

सन् १८४२ मा स्कटिश व्यापारी र अन्य घोडचडी समूहद्वारा सिंगापुर टर्फ क्लब(एसटीसी) स्थापना  गरेका थिए ।प्रतियोगिताको लोकप्रियता बढ्दै गएपछि रेस कोर्स स्थानीय बुकित तिमाहबाट सारेर हालको स्थानमा ल्याइएको थियो ।

यतिखेर सरकारको यस्तो निर्णयप्रति एसटीसीका अध्यक्ष नियाम चियाङ मेङ चाहिं दुःखी छन् ।तर उनले सिंगापुरको जग्गाको आवश्यकता राम्ररी बुझेका छन् ।त्यसो त,  अर्का स्थानीय जेर्लिन सेउले बन्द हुन लागेको यो खबर सुनेपछि आफूले ‘वाकवाकी’ महसुस गरेको बताइन् ।  २९ वर्षीया उनले भनिन्, ‘म सपनामा बाँचिरहेको छु जस्तो लाग्थ्यो तर अहिले त्यो चकनाचुर भएको छ ।’

उनले थपिन्, ‘सिंगापुरमा धेरै मनोरञ्जन नभएको बेला सरकार किन यो ऐतिहासिक उद्योग बन्द गर्न चाहन्छ, यो गल्ती हो।’

च्यानल न्यूज एशियाका अनुसार रेस कोर्समा अन्तिम प्रतिस्पर्धा अर्थात् १०० औं ग्रान्ड सिंगापुर गोल्ड कप सन् २०२४ को अक्टोबर ५ मा हुनेछ । त्यसपछि सो कोर्सलाई बन्द गरेर सन् २०२७ मा पुनःविकासका लागि नगर सरकारलाई दिइनेछ । जग्गाको चरम अभावबीच त्यहाँको सरकारले निरन्तर जग्गाको पुनः प्रयोगको समीक्षा गर्दै आएको छ ।

पछिल्लो समयमा सिंगापुरमा घोडा दौडको लोकप्रियता घट्दै गएको छ भने चरम अभावबीच अहिले त्यहाँ घरजग्गाको भाऊ भने तीव्र दरमा बढिरहेको छ ।  पछिल्ला वर्षहरुमा प्रतियोगिता हेर्ने दर्शकको संख्या पनि घटेको छ । हुन त सार्वजनिक हाउजिङ प्रणालीका कारण ८० प्रतिशत सिंगापुरेहरुसँग आफ्नै घर छ । सरकारले आफैंले अपार्टमेन्टहरु बनाएर नागरिकहरुलाई सहुलियत दरमा बिक्री गर्ने गरेको छ ।

पछिल्लो समय यस्ता घरको माग झनै बढेको छ । न्यूनतम् अवधि बसेपछि विक्री गर्न पाइने त्यस्ता घरको संख्या विगत तीन वर्षमा ३० प्रतिशतभन्दा धेरैले बढेको छ ।कतै पनि नयाँ घर बनाउन जग्गै पाइएन वा भेटिएन भने कुनै दिन काठमाण्डौको टुँडिखेल मासेर घर बन्ने स्थिति नआउने त होइन? जनसंख्या बृद्धि र बसाईसरेर आउने क्रम निरन्तर भए सिंगापुरको सार्वजनिक जग्गा मासिए जसरी टुँडिखेल पनि नमासिएला भन्न सकिदैन । -एजेन्सी