काठमाण्डौ । नेपालमा बेला बेला बैंकिङ ठगीका घटनाहरु बाहिर आउने गर्छन् । बैंक फ्रडका यस्ता घटनामा कुनै न कुनै रुपमा बैंक कर्मचारीको समेत सहभागिता र मिलेमतो हुने गर्छ । 

बैंक तथा बित्तीय संस्थाको उच्च व्यवस्थापनको लापरबाहीका कारण प्राय यस्ता घटना हुने गरेको देखिन्छ । फलस्वरुप कतिपय बैंकहरु पछिल्लो समय खराब कर्जाको थुप्रोले थिचिँदै गएका छन् । कमसल धितो राखी मिलेमतोमा कर्जा निकाली दुरुपयोग गर्ने प्रवृतिको बढोत्तरीसँगै बैंकहरुलाई खराब कर्जा टाउको दुखाईको विषय बन्ने गर्छ । 

हुन त कतिपय अवस्थामा बैंककै संचालक समेत यस्ता घटनामा संलग्न रहेका पाइन्छ । तत्काली एपेक्स डेभलपमेन्ट बैंकका संचालक समितिका अध्यक्ष, संचालक तथा कर्मचारीहरुको मिलेमतोमा खोला र खोल्सालाई धितो राखेर करोडौं रुपैयाँ झ्वाम पारिएको घटना धेरै पुरानो भइसकेको छैन। 

हालै देवः विकास बैंकका एक शाखा प्रबन्धकको समेत मिलेमतोमा हुँदै नभएको सवारीी साधनको नक्कली ब्लुबुक बनाएर समेत सवारी कर्जाको नाममा २ करोड बढी अपचलन भएको छ । 

यस्ता ठगी घटनामा संलग्नता विभिन्न पक्षको हुने भए पनि यसको मुख्य दोष चाहि व्यवस्थापनको नेतृत्व गरिरहेका अधिकारीहरुको टाउकोमाथि जान्छ । आफूले गल्ती नगरे पनि आफू मातहतका कर्मचारीलाई इमानदार ठानेर लोनका फाइलमा हस्ताक्षर गरिदिंदा कतिपय बैंकका सीइओ, डेपुटी सीइओ समेत अनाहकमा फसेका छन् । 

उसो भए यस्ता घटनाबाट बच्ने कुनै उपाय छैन ? संभावित यस्ता घटनालाई रोक्न बैंकको उच्च व्यवस्थापनले नै केही कदम बेलैमा चाल्न सक्दैन ? यसको जवाफ छ गरिमा विकास बैंकका सीइओ गोविन्दप्रसाद ढकालसँग ।

ढकालले नेतृत्व गरेको गरिमा विकास बैंकले पछिल्लो समय खराब कर्जा घटाएर निकै लोभलाग्दो अवस्था बनाएको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासकै कुरा गर्ने हो भने यो बैंकको खराब कर्जा अनुपात घटेर ०.२८ प्रतिशतको न्यून विन्दूमा आइसकेको छ । यसको एक मात्र कारण हो सीइओ ढकालले अपनाएको सावधानी र ऋण स्वीकृतिमा गरेको फरक प्रयोग । 

ढकाल महिनामा ३–४ पटक काठमाण्डौ छाडेर मोफसलका जिल्लाहरु कुदिरहेका हुन्छन् । कुनै शाखा कार्यालय खोल्न वा औपचारिक कार्यक्रममा सहभागी हुन उनी यसरी नियमितजसो जिल्ला दौडाहामा जाँदैनन् । 

पछिल्लो समय बैंक तथा बित्तीय संस्थाहरुमा खराब कर्जा बढिरहेको  र बैंक कर्मचारीकै मिलेमतोमा नक्कली धितो राखेर ऋण लिने प्रवृति बढिरहेका कारण ठूला लोन प्रस्तावहरुमा राखिने धितो हेर्न जिल्ला–जिल्लामा उनी आफैं पुग्ने गरेका हुन् । 

‘५ करोड रुपैयाँ भन्दा बढीको ऋण प्रस्तावमा राखिने धितो हेर्न म आफैं सम्बन्धित ठाउँमा पुग्छु । जोखिम लिने कुरै छैन ।’ उनले भने–‘बेलैमा सावधानी अपनाइएन भने एउटा हस्ताक्षरले जेलको बास हुन्छ ।’ 

उनको भनाईमा महिनामा ३–४ पटक यस्ता धितोहरुको मूल्याङुकन गर्न जाँदा वर्षको ५–७ लाख खर्च होला । तर, यसले बैंकको करोडौं डूब्ने जोखिमबाट भने मुक्ति दिलाउनेछ । 

‘पाँच करोड बढीका ऋण फाइलहरुका धितो भनिएका जग्गा हेर्न म फिल्डमा आफैं पुग्छ । म त्यहाँ जाँदा बैंकर भएर भन्दा पनि पहिला सामान्य नागरिक भएर जान्छु ।’ 

सामान्य पोशाकमा गएर धितो राख्ने भनिएको जग्गा वा सम्पत्तिको बिषयमा उनी आफैंले स्थानीयबाट बुझ्छन् । चलनचल्तीको खरीदबिक्री मूल्य समेत स्थानीयबाटै बुझ्छन् । धितोमा राखिने जग्गा अध्ययनका लागि जिल्ला दौडाहा गर्दा गर्दा उनी जग्गा छानबिनको बिषयमा समेत पोख्त भइसकेका छन् । 

‘मैले फिल्डमा गएर हेर्दा सबै कुरा ठीक देखेँ भने मात्र त्यस्तो फाइलमा साइन हुन्छ ।’ उनले बिजशालासँग भने–‘नभए ऋण स्वीकृत हुन्न ।’ 

उनले, ५ करोडदेखि तलका लोनहरुमा भने आफूभन्दा तलका उच्च तहका कर्मचारीलाई अध्ययनको जिम्मा दिने गरेका छन् । ‘केही लाखका फाइल मात्र सम्बन्धित शाखा प्रबन्धकहरुको जिम्मामा छाडिदिने गरेका छन् । तर, यसको अर्थ हाम्रा शाखा प्रबन्धकहरुलाई विश्वासन नगरेको भन्ने चाहि होइन ।’ उनले आफ्नो रणनीतिमाथि थप प्रकाश पार्दै भने–‘ठूला लोनबाट बैंकलाई हुनसक्ने संभावित जोखिम व्यवस्थापनका लागि पूर्व सावधानी मात्र अपनाइएको हो ।’ 

उनले अन्य बैंक तथा बित्तीय संस्थाले समेत ठूला लोनका फाइलहरुमा विशेष ध्यान दिने र बढी चासो राख्ने हो भने धितोमा हुन फ्रडका घटनामा कमी आउने दाबी गर्छन् । 

ठूला लोनका धितोहरुको बिषयमा बैंकरहरुले विशेष सावधानी अपनाउनुपर्ने उनको सुझाव छ । 

ढकालको अनुभवमा पछिल्लो समय हेटौडा, चितवन लगायतका क्षेत्रबाट आउने ठूला लोन अफरहरुसँग सम्बन्धित जग्गाधितोमा धेरै फ्रडहरु देखिने गरेका छन् । उनलाई सबैभन्दा सुरक्षित धितो चाहि कास्की र स्याङ्जाको लाग्ने गर्छ । किन त ? ढकाल भन्छन्–‘मैले निकै लामो समयसम्म सो क्षेत्रमा काम गरेकोले पनि यस्तो लागेको हुनुपर्छ ।’