काठमाण्डौ । नेपाल राष्ट्रबैंकको पटक पटकको चेतावनीको बाबजुद बैंक तथा बित्तीय संस्थाहरुले निक्षेपको वृद्धिदरको ख्यालै नगरी कर्जा प्रवाह गर्दा बित्तीय असन्तुलन देखिएको छ । 

नेपाल राष्ट्रबैंकले बिहीबार चालु आर्थिक वर्षको ९ महिनाको आर्थिक परिदृश्य तथा विश्लेषण सार्वजनिक गर्दै सो कुरा बताएको हो । 

समीक्षा अवधिमा वित्तीय क्षेत्रतर्फ कर्जाको वृद्धिदर निक्षेप परिचालनभन्दा लगातार उच्च रहँदै आएको केन्द्रीय बैंकको ठहर छ । ‘वार्षिक विन्दुगत आधारमा २०७४ चैत मसान्तमा कर्जा प्रवाह १९.५ प्रतिशतले वृद्धि भएको छ भने निक्षेप परिचालनको वृद्धिदर १५.३ प्रतिशत रहेको छ । यसले अद्यापि वित्तीय असन्तुलन रहेको देखाउँछ ।’ केन्द्रीय बैंकले भनेको छ–‘आगामी समयमा सरकारको पुँजीगत खर्चमा हुने वृद्धिले वित्तीय असन्तुलनमा सहजता ल्याउने अपेक्षा छ ।’

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १५.३ प्रतिशतले बढेको छ । 

२०७४ चैतमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.७ प्रतिशत, ३५.८ प्रतिशत र ४४.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.५ प्रतिशत, ३६.६ प्रतिशत र ४०.६ प्रतिशत रहेको थियो ।

२०७४ चैतमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४६.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४६.८ प्रतिशत रहेको थियो ।

यसैगरी, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १६.९ प्रतिशतले बढेको बताइएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५.६ प्रतिशतले बढेको थियो । 

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १६.२ प्रतिशत, विकास बैंकहरुको २४.७ प्रतिशत र वित्त कम्पनीहरुको १०.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १९.५ प्रतिशतले बढेको छ । 

२०७४ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.८ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७३ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.८ प्रतिशत र १४.० प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७०.९ प्रतिशत (रु.४५ अर्ब ७५ करोड) ले वृद्धि भई रु. ११० अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा १०.० प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा १४.० प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १३.३ प्रतिशतले बढेको राष्ट्रबैंकले जनाएको छ ।