काठमाण्डौ । जनता बैंकको सेयर होल्डर हुनुहुन्छ भने तिहारको रमझममा भूलेर सबै पैसा नसक्नुहोला । यो बैंकले तिहार र छैठ लगत्तै २ बराबर १ का दरले हकप्रद सेयर निश्कासन गर्दैछ । 

माछापुच्छे बैंकसँगको मर्जर प्रक्रिया तोडिएपछि आफैं पूँजी वृद्धिको योजनासहित अगाडि बढेको जनता बैंकले ५० प्रतिशतको दरले १ करोड ३ लाख कित्ता हकप्रद निश्कासन गर्न लागेको हो । 

हकप्रदका लागि जनता बैंकका सेयरधनीले आवेदन खुलेको ३५ दिनभित्र अर्थात पुस ५ गतेसम्म हकप्रदका लागि निवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

हकप्रदका लागि यो बैंकले कात्तिक ११ गते नै बुक क्लोजको मिति तोकिसकेको छ । यसको अर्थ कात्तिक १० गतेसम्म जनता बैंकको सेयर आफ्नो नाममा नामसारी गरेका वा खरीद गरेकाहरुले मात्र घोषित हकप्रद भर्न पाउनेछन् । 

जनता बैंकको हकप्रदको निश्कासनका लागि एनसिएम मर्चेन्ट बैकिङ बिक्री प्रबन्धक तोकिएको छ । इच्छुक सेयरधनीले काठमाण्डौको कमलपोखरीमा रहेको एनसिएम मर्चेन्ट बैकिंगको कार्यालय वा जनता बैंकको देशभरका सबै शाखाहरुबाट आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

जनता बैंकको हाल चुक्तापूँजी २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद निश्कासन र व्यवस्थापनपछि चुक्तापूँजी ३ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ । बैंकसँग १० अर्ब रुपैयाँको अधिकृत पूँजी छ । 

यो बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा ३२ करोड ५३ लाख खूद नाफा गरेको थियो ।