काठमाण्डौ । ‘‘जनता बैंक नेपाली जनताको बैंक’’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा बैकिङ्ग सेवा पुर्याउँदै आएको जनता बैंक नेपाल लिमिटेडले इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । 

‘‘जनता रेमिट’’मार्फत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनतालाई सहज आन्तरिक रेमिट्यान्स सेवा पुर्याउँदै आएकोमा अबदेखि विदेशमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्नसक्ने बैंकले जनाएको छ ।

बेक्स मनी बहराइन एक्सप्रेस एक्सचेञ्ज, बहराइन र जनता बैंक नेपाल लिमिटेडबीच हालै भएको सम्झौताअनुसार अब बहराइनमा रहेका नेपालीहरुले जनता रेमिटमार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्ना आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् । 

खाताबाट कारोवार गर्न बेक्स मनी बहराइनमा रहेको कुनै पनि शाखामा सम्पर्क गरीे जनता बैंकमा खाता खोल्न र चेक बुक तथा एटिएम कार्ड प्राप्त गरी करोवार गर्न सक्नेछन् । 

बहराइनबाट जनता रेमिटमार्फत पठाइएको रकम देशभरका जनता बैंकको १२१शाखाको अतिरिक्त करिब १६ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सक्नेछन् । जनता रेमिट सेवा निकट भविष्यमै भारत, मलेशिया, जापान, कुवेत, कतार, ओमान र यूएईबाट समेत सुरु गरिनेछ ।

जनता बैंकले देशभरमा १२१ शाखा सञ्जाल, ४० शाखारहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउण्टर र ७० एटिएमबाट सरल र सहज रुपमा बैकिङ्ग सेवा प्रदान गरिरहेको  छ ।  बैंकको हाल रु. ५९ अर्ब ३१ करोड निक्षेप र रु. ५४ अर्ब ४४ करोड कर्जा कारोवार रहेको छ ।