काठमाण्डौ । जनता बैंक नेपाल लिमीटेड ८ वर्ष पूरा गरी ९ औं वर्षमा प्रवेश गरेको छ । बैंकले यो अवसरमा हालसम्मको यात्रामा साथ दिने ग्राहक, सेयरधनी, नियमनकारी निकाय तथा शुुभचिन्तकप्रति आभार प्रकट गरेको छ । 
 
बैंकले नवौ वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम समेत आयोजना गरेको छ । केही कार्यक्रम यसप्रकार छन्:
१. प्रभातफेरी:९औं वर्ष प्रवेशको अवसरमा चैत्र २३ गते विहान प्रभातफेरी सम्पन्न गरिएको छ । बैकिङ्ग साक्षरता सम्बन्धी चेतनामूलक ब्यानर र प्लेकार्डसहित सम्पन्न भएको प्रभातफेरी कार्यक्रममा बंैक संचालक समितिका अध्यक्ष, संचालक र काठमाडौं उपत्यकाका शाखामा रहेका सबै कर्मचारीहरुको सहभागिता थियो । यस्तै प्रकारको प्रभातफेरी कार्यक्रम उपत्यकाबाहिरका अन्य शाखाहरुले पनि गरेका थिए ।
 
२.निःशुल्क स्वास्थ्य शिविर: 
देशका ग्रामीण क्षेत्रमा रहेका महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी जनता बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तगत ‘स्वस्थ्य नारी पहल’ अभियान संचालन गरी नारीहरुको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गर्ने निर्णय गरेको छ । यसै लक्ष्यलाई अवलम्बन गर्दै ९औं वर्ष प्रवेशको अवसरमा चैत २३ गते  चौतारा शाखा, सिन्धुपाल्चोकमा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरियो । शिविरमा करिब ५०० महिलाहरुले स्त्री तथा प्रसुति रोग सम्बन्धी परीक्षाका लागि सहभागिता जनाएका छन् । सोमध्ये आङ खस्ने सम्बन्धी समस्याको अपरेशन गर्नुपर्ने बिरामीको निःशुल्क अपरेशनको व्यवस्था मिलाइएको बैंकले जनाएको छ । शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो । यसैगरी नयाँबानेश्वर शाखामा निःशुल्क थायोराइड परिक्षण शिविर राखिएको छ । साथै धनगढी शाखा, कैलालीमा निःशुल्क डेन्टल, आँखा र जनरल मेडिसिन परिक्षण शिविर संचालनमा ल्याईएको बताइएको छ । सो शिविरमा पनि बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको छ ।
 
यसै अवसरमा चैत २४ गते शनिवार नयाँबानेश्वर शाखामा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको बैंकले जनाएको छ । शिविरमा स्त्री तथा प्रसुति रोग, हाडजोर्नी, ग्यास्ट्रो, नाक, कान, घाँटी र जनरल मेडिसिनसम्बन्धी निःशुल्क परिक्षण आयोजना गरिएको बताइएको छ ।
 
३.रक्तदान कार्यक्रम: 
रक्तदान कार्यक्रमलाई जनता बैंकले हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिदै आएको छ । यसै अवसरमा चैत्र २३ गते बैंकको नयाँबानेश्वर, बिराटनगर, हेटौडा, नारायणघाट, पोखरा, बुटवल, भैरहवा, नेपालगञ्ज र धनगढी शाखामा रक्तदान कार्यक्रम राखिएको थियो । 
 
४.सहयोग: सोही अवसरमा नागरिक समाज प्रतिष्ठान दमकको जेष्ठ नागरिक आवासमा भान्साकोठा सुधारका लागि रु. २५,०००/– नगद र समाज कल्याण आँचल अनाथालय महेन्द्रनगरका २० जना विद्यार्थीहरुलाई पोषाक र करिब रु. १० हजारको खाद्यान्न वितरण गरिएको छ ।
 
५. छात्रवृत्ति: जनता बैंक नेपाल लिमिटेडले देशका विभिन्न भागका सरकारी स्कूलमा अध्ययनरत बालबालिकालाई नियमित छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसै अवसरमा विभिन्न विद्यालयका ४४ जना विद्यार्थीलाई रु. २ लाख २० हजार छात्रवृत्ति वितरण गरिएको बैंकले जनाएको छ । 
 
बैंकले हाल देशभर रहेका १०६ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै रु. ५३ अर्ब निक्षेप संकलन तथा रु. ५० अर्ब कर्जा प्रबाह गरेको छ ।