काठमाण्डौ । जनता बैंक नेपालको डेपुटी सीइओबाट राजीनामा दिएका चर्चित बैंकर अजयकुमार मिश्रलाई यूनाइटेड फाइनान्स लिमीटेडले प्रमुख कार्यकारी अधिकृतको रुपमा भित्र्याएको छ । 

बैंकरहरुबीच बौद्धिक व्यक्तित्व बनाएका मिश्रलाई चौधरी ग्रुपको लगानी रहेको यूनाइटेड फाइनान्समा भित्र्याइएको हो । 

उनले बैशाख १ गतेदेखि लागू हुने गरी जनता बैंक छाडेका थिए । 

यूनाइटेड फाइनान्सको बैशाख ५ गते बसेको संचालक समितिको बैठकले बैशाख ६ गतेदेखि लागू हुने गरी मिश्रलाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो । 

यूनाइटेड फाइनान्सले भारतको मुत्थुट फाइनान्सको लगानी भित्र्याएसँगै कम्पनीलाई नयाँ ढंगले हाँक्ने कुशल व्यक्तिको खोजी भइरहेको र मिश्रमा त्यो क्षमता देखेर उनलाई भित्र्याइएको स्रोतले जनाएको छ । 

मिश्रले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई समेत लोभलाग्दो विकास बैंक बनाएका थिए । सिद्धार्थलाई जनता बैंकसँग सम्मानजनक हैसितमा एक्वीजिसनमा लगी उनी बैंकले ल्याएको स्वेच्छिक अवकाश योजना अन्तर्गत बाहिरिएका थिए । 

यूनाइटेड फाइनान्सका सीइओ सुनन्दबहादुर श्रेष्ठले राजीनामा दिएपछि फाइनान्स सीइओविहीन थियो ।