काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा देशको अति विकट क्षेत्र कर्णाली प्रदेशको जुम्लामा ३ दिने बृहत स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न गरिएको छ । 

संस्थागत सामाजिक उत्तर दायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धि र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा जुम्ला जिल्लाको तातोपनी गाउँपालिकामा यहि २०७५ आषाढ १६, १७ र १८ गते बृहत स्वास्थ्य शिविर संचालन गरिएको हो । 

तातोपानी गाउँपालिकामा यहि २०७५ बैशाख देखि जनता बैंकको शाखा संचालनमा रहेको छ । उक्त क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरिएको हो । नेपाल नेत्र ज्योती संघ, हिमालय आँखा अस्पताल, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न गरिएको बैंकले जनाएको छ । 

आँखा परिक्षण तथा मोतिबिन्दुको अपरेशन, स्त्री तथा प्रसूती रोग र सामान्य स्वास्थ्य परिक्षणको शिविर संचालन गरिएकोमा कूल ११४५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । जसमा करिव १००० जनाको आँखा परिक्षण गरिएकोमा १०० जना भन्दा बढीमा मोतिबिन्दुको समस्या देखिएको थियो । सो मध्ये मोतिबिन्दुले ग्रस्त भइ सकेका ४९ जना विरामीको निःशुल्क अपरेशन गरिएको थियो साथै विरामीहरुलाई आवश्यक औषधि र चस्मा पनि निःशुल्क वितरण गरिएको थियो । विरामीहरुको विपन्न आर्थिक अवस्थालाई मध्ये नजर गरी अपरेशन गरेका विरामी तथा कुरुवाको लागि खाने, बस्ने र यातायातको व्यवस्था बैंकले नै गरिदिएको थियो । 

सोही अवसरमा जनता बैंकको तर्फबाट स्थानीय स्वास्थ्य चौकीलाई विभिन्न प्रकारका रु. ५० हजार मूल्य बराबरको औषधि हस्तान्तरण गरियो । तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने मार्फत तातोपानी शाखाका शाखा प्रबन्धक बिनोदकुमार आचार्यले उक्त औषधिहरु हस्तान्तरण गरेका थिए ।