काठमाण्डौ । जनता बैंक लिमीटेडको साधारण सेयर सस्तोमै पाउने अवसर खुल्ने भएको छ । यो बैंकले आगामी कात्तिक १५ देखि ८५ हजार १ कित्ता सेयर लिलामीबाट बिक्री खुलाउने भएको हो ।

बैंकले पूर्व संचालक गुरुप्रसाद न्यौपानेले आफ्नी पत्नीको नाममा बदनियतपूर्ण ढंगले राखेको सेयर केही समयअघि जफत गरेको थियो । जफत गरिएको तिनै सेयर लिलामीबाट सर्वसाधारणमा बिक्री खुल्ला गर्न लागिएको हो । 

लिलामीमा सहभागी हुन इच्छुकले कात्तिक २१ गतेभित्र तोकिएको स्थानमा गएर बोलपत्र पेश गर्नुपर्नेछ । परेका बोलपत्रहरु कात्तिक २२ गते खोलिने बताइएको छ । 

लिलामी प्रक्रियाको व्यवस्थापनका लागि काठमाण्डौ क्यापिटल मार्केट लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

इच्छुक लगानीकर्ताले प्रति कित्ता न्यूनतम १०० रुपैयाँ र न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । कमलादीको काठमाण्डौ प्लाजास्थित काठमाण्डौ क्यापिटल मार्केट लिमीटेडको मुख्य कार्यालयमा गएर बोलपत्र दर्ता गर्नुपर्नेछ । 

जनता बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म ६४ करोड १८ लाख खूद नाफा आर्जन गरेको थियो । यो बैंकको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता २५८ रुपैयाँ रहेको छ ।