काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडको दोर्दी शाखाको प्रदेश नंं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बैशाख २८ गते एक समारोहकाबीच उद्घाटन गरे ।

बैंक संचालक समितिका अध्यक्ष केशबबहादुर रायमाझीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री गुरुङले सरकारको प्रत्येक गाउँपालिकामा बैंक शाखा पुर्याउने नीतिअनुरुप दोर्दीमा जनता बैंकको शाखा स्थापना भएकोमा खुशी व्यक्त गर्दै जनसमुदायलाई बैंकको सहयोगमा उद्यमशिल बन्न आग्रह गरे ।

प्रदेशसभा सांसद मायानाथ अधिकारी, दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ, बैंक संचालक रामबहादुर भण्डारी र बिनित अग्रवाल, संचालक समितिका पूर्व अध्यक्ष उदय नेपाली श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

संचालक समितिका अध्यक्ष केशबबहादुर रायमाझीले सो भेगका जनतालाई बैंकको सहयोग लिई जीवनस्तर माथि उठाउन आग्रह गरे । साथै, बैंकले विभिन्न सामाजिक कार्यहरु पनि गरिरहेको स्मरण गराउँदै यस क्षेत्रमा आगामी वर्षमा पनि नयाँ कार्यक्रमहरु ल्याउने प्रतिबद्धता ब्यक्त गरे । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले देशको ग्रामीण तहसम्मका जनताहरुको पहुँचमा बैंकिङ सेवा पुर्याउने लक्ष्यअनुसार यो शाखा खोलिएकाले यहाँबाट आधुनिक बैंकिङ सुविधा लिई जीवनस्तरलाई सहज बनाउन आग्रह गरे । साथै यस शाखाको सहयोगबाट यस क्षेत्रका जनताको उद्यमशिलता बढ्न गई आयस्तर बढ्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्य शिविर तथा आँखा शिविर
शाखा उद्घाटनकै अवसरमा दोर्दी गाउँपालिका परिसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । जनता बैंकको आयोजना तथा अल्का अस्पताल जावलाखेलको प्रविधिक सहयोगमा एकदिने स्त्री तथा प्रसुती रोग, नाक/काँन/घाँटी र सामान्य स्वास्थ्य परिक्षणको शिविर संचालन गरिएकोमा ३२४ जना बिरामीहरुले स्वास्थ्य परिक्षण गराएका थिए । सोमध्ये आङ खस्ने सम्बन्धी रोगको अप्रेशन गर्नुपर्ने विरामीको निःशुल्क अपरेशनको व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

त्यसैगरी, जनता बैंककै आयोजना र नेपाल नेत्रज्योति संघ तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सोही स्थानमा बैशाख २८, २९ र ३० गते गरी ३ दिने बृहत आँखाशिविर संचालन गरिएको छ । परीक्षण स्थलमै मोतिबिन्दुको निःशुल्क अपरेशनको समेत व्यवस्था गरिएको उक्त शिविरमा २८ र २९ गते गरी कुल ८६५ जनाको आँखा जाँच गराएकोमा १६ जना बिरामीको निःशुल्क अपरेशन गरिएको छ । ३० गतेसम्म संचालन हुने उक्त शिविरमा करिब १००० जनाको आँखा परिक्षण गरिने र ५० जनाभन्दा बढीको मोतिबिन्दुको अपरेशन गरिने अनुमान गरिएको छ ।