काठमाण्डौ । प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजन(फूड फर पिपल)लाई जनता बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत रु. २ लाख सहयोग हस्तान्तरण गरिएको छ । 

जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर, धादिङमा एक कार्यक्रमकाबीच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङ्गेललाई सहयोग रकम हस्तान्तरण गरिएको हो । 

प्रेमसागर फाउण्डेसनद्वारा संचालित जनभोजन कार्यक्रमले दैनिक ५ सय बालबालिका र करिब १ सय जना बृद्ध आमाबुबाहरुलाई दैनिक बिहानको खाना खुवाउँदै आएको छ । 

साथै धदिङ र मकवानपुरका केही विद्यालयका करिब १५०० बालबालिकालाई दिवा खाजाको कार्यक्रम संचालन गर्दै आएको छ । 

दैनिक करिब रु. ५० हजार रकम बराबरको बिहानी खाना र दिवा खाजाको कर्याक्रम संचालन गर्दै आइरहेको फाउण्डेसनलाई जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वबाट ४ दिन बराबरको खाना तथा खाजा सहयोग बापत उक्त रकम सहयोग गरेको हो । 

धादिङ र मकवानपुरको सिमानामा पर्ने तसर्पु र आसपासमा रहेका विपन्न बस्तिलाई लक्षित गरी करिब १० वर्ष अगाडिदेखि प्रेम सागर फाउण्डेसनले बिद्यालय जाने बालबालिकालाई पोषणयुक्त खाना तथा खाजाको व्यवस्था गर्दै आइरहेको छ ।